close

बजेट नहुँदा जीर्ण बन्दै विद्यालय

बजेट नहुँदा जीर्ण बन्दै विद्यालय

Trulli
ADVERTISEMENT

धनकुटा - मर्मतसम्भारको बजेट नहुँदा धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ ।

विसं २०४० मा आठ सय ६५ रोपनीमा स्थापित यस शिक्षालयमा बालीविज्ञान र पशु विज्ञानतर्फ तीनवर्षे डोप्लोमा र १८ महिने प्रि–डिप्लोमाको अध्यापन हुँदै आएको छ । जिल्लाको एक मात्र कृषि प्राविधिक पढाइ हुने शिक्षालयका नामले चिनिने यस सो विद्यालय क्षेत्र कुनैबेला पर्यटकीय क्षेत्रका रुपमा समेत चिनिन्थ्यो ।

अहिले यहाँ निर्मित ४७ भवन जीर्ण देखिन थालेका छन् भने वरिपरिको वातावरण तथा रमणीय चिया बगान, माछा पोखरीलगायतका स्थल जङ्गल बनेका छन् । बनेका भवन, प्रयोगशाला तथा विभिन्न पूर्वाधार जीर्ण बन्दै जाँदा अध्ययन, अध्यापनमा समस्या हुँदै आएको विद्यालयका प्राचार्य शङ्कर कोइरालाले जानकारी दिए।

मर्मतसम्भारका लागि नेपाल सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा समस्या भएको उनले जानकारी दिए । 'भवनका विषयमा विद्यार्थीको गुनासो आइरहन्छ', कोइरालाले भने, 'लाइभस्टक र प्रयोगशाला जीर्ण हुँदा कोहीबेला प्रयोगात्मक परीक्षा नै रोकिन्छ ।'

हाल विद्यालयको अन्य शीर्षकमा आएको रकमबाट मिलाएर शिक्षालय सञ्चालन गरिरहेको उनले जानकारी दिए  । शिक्षालयको भवन तथा संरचना मर्मत गर्न करिब रु चार करोडजति खर्च लाग्ने आचार्यले जानकारी दिए । वार्षिक एक सय ६० विद्यार्थी भर्ना लिने यस शिक्षालयमा हाल तीन सय २० विद्यार्थी अध्ययनरत छन् ।
 
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट सम्बन्धन प्राप्त देशभरिका ६५ आङ्गिक शिक्षालमा कोशी प्रदेशअन्तर्गत सात वटा रहेका छन् । त्यसमा यो धनकुटाको एकमात्र पुरानो शिक्षालय हो । पछिल्लो समयमा स्थानीय तहमा नै प्राविधिक शिक्षा सञ्चालनमा आउन थालेपछि यहाँ अध्ययन गर्न आउने विद्यार्थीको कमी आएकाले यसलाई बचाउनसमेत चुनौती थपिएको प्राचार्य कोइरालाले जानकारी दिए।