close

अधिकार पुनर्बहाली गर्न नेपाल वडा संघ

अधिकार पुनर्बहाली गर्न नेपाल वडा संघ

Trulli
ADVERTISEMENT

पाल्पा - पाल्पा जिल्लामा नेपाल वडा संघ गठन गरिएको छ । साविकको वडा कार्यालयको अधिकार पुनर्बहाली गर्नको लागि एक कार्यक्रमको आयोजना गरी वडा संघ गठन गरिएको हो । 

संघका उपाध्यक्ष तथा माथागढी गाउँपालिकाको वडा नम्बर १ का अध्यक्ष राजकुमार पन्थीका अनुसार वडा कार्यालयको आर्थिक अधिकार पुनःप्राप्तीको लागि संघको गठन गरिएको हो । सरकार पुर्नगठन भएसँगै संघीयताको मर्मअनुुसार साविकका गाविसको अधिकार पालिकामा केन्द्रकृत भएको उनले पालिका खबरलाई बताए । ‘आर्थिक अधिकारबाट बञ्चित भएसँगै सेवाग्राही मर्कामा परेका छन् । बजेट विनियोजन तथा फर्छ्यौटको कुरा वडाबाट गर्न रोक लगाइएको छ,’ उनले भने ।

वडाको अधिकारका विषयमा आवाज बुलन्द गर्नको लागि आफूहरुले संघको गठन गरेको उनले सुनाए  । ‘गाविस हुँदा वडा सचिवमा आर्थिक अधिकार थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ गठन भएपछि त्यो अधिकार कटौती गरी पालिकाको प्रमुख प्रशासकीय अधिकारीको मातहतमा पुगेको छ,’ उनले भने, ‘१० रुपैयाँको कलम किन्ने आर्थिक अधिकार समेत वडामा छैन ।’

बाटाघाटो, स्वास्थ्य उपचार, राहत जस्ता आपतकालीन कुराको अधिकार पनि वडामा नभएको उनको गुनासो छ । उनले प्रत्यक्ष जनसरोकार राख्ने वडा कार्यालय भएपनि सो कटौती भएपछि जनता मारमा परेको बताए ।  उनका अनुसार जिल्लाभरी ८१ वटा वडाको सम्मेलनबाट १५ सदस्यीय समिति गठन भएको हो । प्रदेश, संघ हुँदै राष्ट्रव्यापी लैजाने योजना रहेको उनको भनाइ छ ।