close

सार्वजनिकस्थल वरिपरि सुर्तीजन्य पदार्थको खुला बिक्री

सार्वजनिकस्थल वरिपरि सुर्तीजन्य पदार्थको खुला बिक्री

Trulli
ADVERTISEMENT

झापा - सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री गर्न कानुनले निषेध गरेता पनि मेचीनगर नगरपालिका क्षेत्रमा खुला यसको बिक्री वितरण भइरहेको छ ।

उपभोक्ता जागरण अभियान मेचीनगरले हालै गरेको अनुगमनमा मेचीनगर नगरपालिकाको प्रशासनिक कार्यालय, वडा कार्यालय, शिक्षण संस्था, अस्पताललगायतका सार्वजनिकस्थलबाट एक सय मिटरभित्र चुरोट, बिँडी, खैनी र गुट्खाको खुला बिक्री वितरण भइरहेको तथ्य फेला पारेको हो ।

अभियानका मेचीनगर अध्यक्ष रचना घिमिरेले अनुगमनबाट पाइएको तथ्यबारे जानकारी दिँदै मेचीनगर नगरपालिकाको मेचीनगर वडा नं ७ स्थित मुख्य प्रशासनिक कार्यालयबाट एक सय मिटरभित्रका पसल तथा घरमा सुर्तीजन्य पदार्थको निर्वाध बिक्री वितरण भइरहेको फेला पारिएको जानकारी दिए ।

अभियानले मेचीनगर वडा नं १० स्थित धुलाबारी माध्यमिक विद्यालय, मेचीनगर वडा नं ८ स्थित आदर्श माध्यमिक विद्यालय र मेचीनगर वडा नंं ६ स्थित काँकडभिट्टा माध्यमिक विद्यालयको एक सय मिटरभित्रका पसल तथा घरको अनुगमन गरेको जनाएको छ । ती विद्यालयको एक सय मिटरभित्र चुरोट, बिँडी, खैनी, गुट्खा र पत्रु खाना (जङ्क फुड)को निर्वाध बिक्री वितरण भइरहेको अभियानका कोषाध्यक्ष मीरा काफ्लेले जानकारी दिए ।

उपभोक्ता जागरण अभियान मेचीनगरले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा लगाइएको प्रतिबन्धात्मक कानुनी व्यवस्थाको कार्यान्वयन नभएको जनाउँदै सोमबार मेचीनगर नगरपालिकामा तीनबुँदे मागपत्र बुझाएको छ ।

अध्यक्ष घिमिरेले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ ले सार्वजनिकस्थलको सय मिटरभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न नपाइने कानुनी व्यवस्था गरेको बताए । यो कानुनी व्यवस्थाको उल्लङ्घन गर्नेलाई रु १० हजारसम्म जरिवाना गर्न सकिने दण्डात्मक व्यवस्थासमेत ऐनले गरेको उनको भनाइ छ ।

नगरभित्रका सार्वजनिकस्थल वरिपरि कानुनले निषेधित गरेको स्थानमा सुर्तीजन्य पदार्थको छ्याप्छ्याप्ती बिक्री वितरण भएको फेला परेपछि त्यसलाई रोक्न माग गर्दै अभियानले  मेचीनगर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

अध्यक्ष घिमिरेको नेतृत्वमा नगरपालिकाका कार्यवाहक नगरप्रमुख हृदय राजवंशीलाई बुझाइएको तीनबुँदे ज्ञापनपत्रको पहिलो बुँदामा मेचीनगरका सार्वजनिकस्थलबाट एक सय मिटरभित्रका घर तथा पसलबाट भइरहेको सुर्तीजन्य पदार्थको बिक्री वितरण अविलम्ब रोक्न माग गरिएको छ ।

विद्यालय, क्याम्पस, अस्पताल, स्वास्थ्योपचार केन्द्र, धार्मिक तथा पर्यटकीयस्थल, नगरपालिकाको प्रमुख प्रशासनिक कार्यालय, वडा कार्यालयलगायतका सार्वजनिकस्थलबाट सुर्तीजन्य पदार्थको बिक्री रोकिनुपर्ने माग गरिएको सचिव निरु परियारले बताए । अभियानले मेचीनगरभित्रका विद्यालयमा दिइँदै आएको दिवा खाजामा पत्रु खाना (जङ्क फुड) निषेध गर्न र लागुपदार्थविरुद्ध वडा तहसम्म जागरण अभियान सञ्चालन गर्न नगरपालिकासँग माग गरेको छ ।

मेचीनगरको शिक्षा शाखा प्रमुख होमप्रसाद भण्डारीले शिक्षण संस्थाबाट सय मिटरभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउन सबै प्रधानाध्यापकलाई निर्देशन दिइने बताए । मेचीनगरका कार्यवाहक नगरप्रमुख राजवंशीले कानुनमा भएको व्यवस्था कसैले पनि उल्लङ्घन गर्न नमिल्ने हुँदा सार्वजनिकस्थल वरिपरि निषेधित वस्तुको बिक्रीमा रोक लगाउन पहल गरिने बताएका छन् ।

बजार अनुगमन गर्न आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेशका प्रमुख पवनकुमार भट्टले बजारको तत्काल अनुगमन गरी उपभोक्तालाई स्वच्छ र सुलभ मूल्यमा वस्तु तथा सेवा उपभोग गर्न पाउने व्यवस्था मिलाउन स्थानीय तहको सरकारलाई आग्रह गरेका छन् । 

झापा जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले उपभोक्ताको अधिकार मानवअधिकारकै विषय भएकाले यस विषयमा स्थानीय सरकार गम्भीर बन्नुपर्ने र आमनागरिक जागरुक बन्नुपर्ने बताए ।

सरकारी कार्यालयका प्रमुख, मानवअधिकार र उपभोक्ता अधिकारकर्मी, कानुन व्यवसायी, व्यवसायीलगायतको उपस्थितिमा भएको उक्त कार्यक्रमका सहभागीले चाडपर्व नजिकिँदै जाँदा झापाको बजारमा मूल्यवृद्धि अनियन्त्रित भएको, बजार अनुगमन फितलो भइरहेको, कानुन कार्यान्वयन हुन नसकेको र सुपथ मूल्यका पसल सञ्चालन नभएको गुनासो सुनाएका थिए ।

आयोगका प्रमुख भट्टले मूल्यवृद्धि नियन्त्रण र बजार अनुगमनमा ध्यान दिन स्थानीय तहको अनुगमन समितिलाई निर्देशन दिएका छन् । सङ्घीयता कार्यान्वनपछि बजार अनुगमनको अधिकार स्थानीय प्रशासन र वाणिज्य विभागबाट स्थानीय तहको सरकारलाई हस्तान्तरण भएको जनाउँदै आयोगका प्रमुख भट्टले उपभोक्ता अधिकारको संरक्षण गर्न कम चासो दिएको भन्दै सरकारको आलोचनासमेत गरे ।