close

रैथाने हाट बजार सञ्चालन गर्दै पाेखरा सरकार

रैथाने हाट बजार सञ्चालन गर्दै पाेखरा सरकार

Trulli
ADVERTISEMENT

कास्की - पाेखरा महानगरपालिकाले रैथाने हाटबजार सञ्चालन गर्ने भएकाे छ । पोखरा महानगरपालिका र श्री कम्प्लेक्स प्रालीको साझेदारीमा साे हाटबजार सञ्चालन गर्न लागिएको हो ।

आगामी शनिवार साे हाटबजारकाे शुभारम्भ गर्ने कार्यक्रम रहेको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । उनका अनुसार हाटबजारमा स्थानीय उत्पादनका १० बढी स्टलहरू रहनेछन् । मन खुसी फाउन्डेसनले तयार गरेको ह्यान्डीक्राफ्ट (मोजा, टोपी), प्राप्ति प्रशान्त हस्तकलाले तयार गरेको पोते माला, आमा एग्रो प्रडक्टका स्थानीय उत्पादनका कृषि उपजहरू, सगुन हस्तकलाले तयार गरेको धागोका सामानहरू हाटबजारमा राखिनेछन् । 

यस्तै पुष्पान्जलीद्धारा तयार गरिएको विवाहका लागि चाहिने सामान (सई पाटा), विधाता हस्तकला उद्योगद्वारा उत्पादित हस्तकलाका सामाग्रीहरू, कृषि सञ्जाल वडा नम्बर ६ ले उत्पादन गरेका कृषि उपजहरू र महिला सीप विकास संस्थाद्वारा उत्पादित स्थानीय हस्तकलाका सामाग्रीहरू हाटबजारमा बिक्रीका लागि राखिनेछन् ।

रैथाने हाटबजारमा तिहार लक्षित खानाका परिकारहरू (सेल रोटी, झिलिङ्गा, चिनिरोटी), स्थानीय स्तरमा उत्पादित खाद्य वस्तुहरू कोदो, मकै, गहुँ, फापर लगायत तरकारी जन्य वस्तुहरू बिक्रीका लागि राखिने कडरियाले बताए । उनका अनुसार सो अवसरमा सयपत्री फुल मेला–२०८० समेत आयोजना गरिनेछ । 

पहिलो दिन कार्तिक २५ गते उद्घाटन सहित स्थानीय उत्पादन प्रवर्द्धन सम्बन्धी देउसी भैलो गीत प्रतिस्पर्धा, फुल माला प्रदर्शनी तथा बिक्री वितरण, दोस्रो दिन २६ गते स्थानीय उत्पादन केन्द्रित सवाल तथा छलफल कार्यक्रम, २७ गते माला तयारी प्रतिस्पर्धा र कार्तिक २८ गते निरन्तर प्रदर्शन तथा बिक्री वितरण लगायतका कार्यक्रमहरू हुनेछन् । 

मेलामा स्थानीय कृषकहरूसँगको साझेदारीमा उत्पादित सत्रपत्री फुलहरू बिक्रीमा राखिने कडरियाले बताए । सयपत्री फुलमा पोखरा महानगरपालिका आत्मनिर्भर भएको उनले बताए । 'पोखरा महानगरपालिकाले स्थानीय कृषकहरूसँग साझेदारी गरेर १६५ रोपनी भन्दा बढी क्षेत्रफलमा सयपत्री फुल लगाइएको छ,' कडरियाले भने, 'यसपालिको तिहारमा सयपत्री फुल पोखरामा बाहिरबाट ल्याउनु पर्ने अवस्था छैन, हामी यसमा आत्मनिर्भर भएका छौँ । महानगरपालिकाले सयपत्री फुलको दररेट समेत तोकेको छ ।'

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, पोखरामा क्रियाशील पुष्प व्यवसायी र स्थानीय कृषकहरूको समन्वयमा फुलको रेट तोकिएको हो । दररेट अनुसार सयपत्री फुलको १५ देखी २० ग्रामको एक थुङ्गालाई ५ रुपैयाँ, १० देखि १५ ग्राम तौल भएको एक थुङ्गाको मूल्य ४ र ५ देखि १० ग्रामको २ रुपैयाँ तोकिएको छ । यस्तै मालाको क्रमशः २००, १८० र १५० रुपैयाँ तोकिएको छ भने, प्रतिकेजी ४०० रुपैयाँ सयपत्री फुलको मूल्य तोकिएको छ । 

श्री कम्प्लेक्समा तीन दिनसम्म चल्ने मेलामा स्थानीय तथा रैथाने उत्पादन प्रवर्द्धन, विकास र बजारीकरणका सम्बन्धमा थप छलफल तथा अन्तरक्रियात्मक कार्यक्रमहरू गरिनेछन् । व्यवसायीहरूले यसले रैथाने उत्पादन र पुष्प व्यवसायको प्रवर्द्धन हुने भन्दै खुसी व्यक्त गरेका छन् ।