close

एउटै पालिकामा १२४ कठ्ठा सयपत्री फूल

एउटै पालिकामा १२४ कठ्ठा सयपत्री फूल

Trulli
ADVERTISEMENT

चितवन - तिहार सुरु भएसँगै नेपाली बजारमा सयपत्री फूलको माग बढेको छ । फूलको चाड तिहारमा मखमलीसँगै सयपत्री फूल आवश्यक हुने भएकाले माग बढेको हो । 

पछिल्लो समय मूलुकभरका विभिन्न स्थानीय तहले प्लाष्टिकको माला तथा फूल प्रयोग गर्न निषेध गरेकाले पनि सयपत्री फूलको माग बढ्दो छ । सयपत्री फूलको उत्पादनलाई बढाउनका स्थानीय तहले समेत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सयपत्री फूलको उत्पादन बढाउनका लागि चितवनको कालिका नगरपालिकाले ५० प्रतिशत अनुदानमा फूलको बेर्ना वितरण गरेको छ । नगरपालिकाको कृषि शाखाका प्रमुख लक्ष्मण पोखरेलका अनुसार सयपत्री फूल खेती प्रवद्र्धनका लागि पालिका र स्थानीय बासिन्दाले २/२ लाखको साझेदारीम बेर्ना वितरण  गरेको हो । 

‘चालु आर्थिक वर्षमा ९ जना कृषकलाई अनुदान दिएका छौँ,’ उनले भने, ‘कृषकले नर्सरीबाट फूलको बेर्ना किनेको बिल नगरपालिकामा पेश गरेपछि अनुदान रकम वितरण गरेका थियौँ ।’ गत आवमा २ जनामात्रै कृषकको आवेदन परेकाले पालिकाबाट औजार, औषधि तथा फूलको बेर्ना अनुदानमा वितरण गरेको उनले पालिकाखबरलाई बताए । उनका अनुसार नगरपालिकाले गत आवमा ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । 

उनका अनुसार नगरपालिका क्षेत्रभित्र १४ जना कृषकले व्यवसायिक रुपमा १२४ कठ्ठामा सयपत्री फूलको खेती गर्दै आएका छन् । तीमध्ये दुई जनाले बृहत र अन्यले थोरै क्षेत्रफलमा फूल खेती गरेको उनले सुनाए । ‘दुई जना कृषकले ६०/६० कठ्ठामा सयपत्री फूल खेती गर्नु भएको छ । बाँकीले २/५ कठ्ठामा फूल खेती गर्नु भएको छ,’ उनले भने । 

पालिकाभित्र उत्पादित फूल नेपालका विभिन्न जिल्ला तथा विदेशमा समेत निर्यात गरिएको उनले सुनाए । उनले भने, ‘एक जना कृषकले अस्ति २० लाखको फूल हङकङ निर्याग गर्नु भएको छ ।’ उनले आगामी वर्ष पनि फूल खेतीलाई प्राथमिकतामा दिने  सुनाए । 

‘आगामी वर्ष सयपत्रीसँगै हिउँदे फूललाई पनि प्राथमिकता दिने छौँ । गोदावरीलगायत अन्य फूललाई पनि समेट्ने छौँ,’ उनले भने ।  फूलको बजारीकरणको लागि पनि नगरपालिकाले योजना बनाएको उनले सुनाए । हाल स्थानीय बासिन्दाले काठमाडौंका ठूला व्यापारीलाई सम्पर्क गरी फूले बेच्ने भएकाले बजारीकरणमा समस्या नभएको उनले सुनाए । साथै नगरपालिकाले बजारीकरणका लागि स्थानीय फूल प्रयोग गर्न पालिकाबासीलाई सूचनामार्फत अनुरोध गरेको उनले बताए ।

फ्लोरीकल्चर अफ एशोसियसनका अनुसार नेपालको चितवन, मकवानपुर, महात्तरी, सिन्धुली, तनहुँ तथा काठमाडौं आसपासका जिल्लामा धेरै मात्रामा सयपत्री फूल उत्पादन हुने गरेको छ । एशोसियसनका अध्यक्ष मीनबहादुर तामाङले नेपालमा उत्पादनबाट अपुग करिब १५ प्रतिशत फूलमात्रै छिमेकी मुलुकबाट आयात गर्नुपर्ने पालिकाखबरलाई सुनाए ।