close

चारैतिर नदीले घेरिएको दुर्गा भगवतीका स्थानीय कागजी जमिनको कर तिर्न बाध्य

चारैतिर नदीले घेरिएको दुर्गा भगवतीका स्थानीय कागजी जमिनको कर तिर्न बाध्य

Trulli
ADVERTISEMENT

रौतहट- दुर्गा भगवती गाउँपालिकाका भूमि हरेक वर्ष नदीले बगाएर लैजान्छ । तर पनि भूमी सुरक्षाको हालसम्म कुनै योजना सुरु हुन  सकेकाे छैन ।

गाउँपालिकालाई चारैतिरबाट विभिन्न नदीले घेरेको छ । गाउँपालिकालाई पूर्वमा बागमति नदी, उत्तर र दक्षिणमा धापखोला र उत्तरमा धोवीखोलाले घेरेको छ । सो नदीमा वर्षायाममा आउने बाढीले बर्सेनि करिब ५० हेक्टर जमिन बगाएर लैजान्छ । 

गाउँपालिकाको अध्यक्ष शम्भुकुमार सिंहका अनुसार पालिकाको जमिन संरक्षण र नदीबाट हुने कटानीको समस्या समाधानको लागि स्थानीय तहले मात्रै सम्भव नभएकाले हालसम्म कुनै ठोस योजना बन्न नसकेको हो । सो समस्या समाधान गर्नको लागि आफूले संघीय सरकार तथा प्रदेश सरकारसँग पटकपटक अपील गर्दै आएको उनले पालिकाखबरलाई बताए । 

‘७५३ मध्ये सबैभन्दा पीडित हाम्रो पालिका हो,’ उनले भने, ‘खोलाले १०० मिटरभन्दा माथिसम्म मिच्दै लगेको छ । हामीले पटक पटक संघीय तथा प्रदेश सरकारसँग सहयोगको लागि माग गर्दै आएका छौँ ।’

सो समस्या समाधानको लागि थोरै बजेटले नपुग्ने भएकाले अलि समय दिएरसमाधानको उपाय खोज्नुपर्ने उनको भनाइ छ । समस्या समाधानको लागि आफूले संघीय सरकारको मन्त्री शक्ति गौचनलाई सहयोगको लागि अनुरोध गरेको उनको सुनाए । तर योजनाभन्दा आश्वासन मात्रै आउने गरेकोमा उनले दुखेसो पोखे ।

आफ्नो पालिकामा भौतिक पूर्वाधार, पर्यटन तथा धार्मिक स्थलको रुपमा परिचित भए पनि सो समस्याको समाधानको लागि गाउँपालिकाले मात्रै नसकेको उनले सुनाए । ‘कतैबाट सहयोग नभएसम्म हामीले मात्रै केही गर्न सक्दैनौँ । खोलाले पुरै बगाएर लगिसकेको छ,’ उनले थपे, ‘यहाँ भौतिक पूर्वाधारको कुनै समस्या छैन । यो शिक्षित पालिका हो । आफ्नै पहिचान बनाएको धार्मिक  पालिका हो ।’ 

हालसम्म कुनै तहबाट सहयोगको लागि जानकारी नआए पनि आफूहरु खोला बाढी र किटानीको समस्या समाधानको लागि प्रयास गर्दै आएको उनले सुनाए । 

मालपोतमा कर फिल्डमा छैन जमिन
गाउँपालिकाका अध्यक्ष शम्भुकुमार सिंहका अनुसार स्थानीय बासिन्दाले मालपोत कार्यालयमा बर्षेनि विघौँ विघा जमिनको कर तिर्न बाध्य भएका छन् । तर सो जमिन खोलाबाढी र कटानीले बर्सेनि बगाउँदै गएको उनको भनाइ छ । 

उनले भने, ‘कहिले बाढीले घरमा माटो लग्छ । स्थानीय बासिन्दाले १० विघा जग्गाको मालपोत तिर्छन् । तर एक क्विन्टल पनि धान भित्र्याउन पाउँदैनन् । 

असार, साउन र भदौ महिनामा खोलामा पानीको बहाव धेरै हुने भएकाले सो क्षेत्रको अधिकांश जमिन बगाएर बगरमा परिणत हुने गरेको उनले जानकारी दिए । गाउँपालिका वरीपरी रहेको बागमती, धाप खोला र धोवीखोलाले सधैँ जमिन बगाउने उनले सुनाए ।

‘हजार विघा जग्गा प्रत्येक वर्ष बगाउँछ । कहिले बाँध भत्काउँछ । कहिले खेत लान्छ,’ उनले भने ।  

गाउँपालिकाको कृषि शाखाका प्रमुख सचिन्द्रानन्द मिश्रका अनुसार नदीको कटानीले पालिकामा भूमिहीनको समस्या पनि बढ्दै छ । बाढीले बर्सेनि करिब ४० देखि ५० विघा बगाएर लैजाने गरेको उनले पालिकाखबरलाई सुनाए । 

तीमध्ये अधिकांश खेती योग्य जमिन हुने उनको भनाइ छ । बाढीले खेत बगाउने भएकाले वर्षायाममा अधिकांशले बाली नै नलगाउने उनले जानकारी दिए । तर हिउँदमा आलस, तोरी, सस्यूँलगायत नगदे बाली लगाउने गरेको उनले बताए । 

बागमती खोलाले बर्सेनि धार परिवर्तन गर्ने गरेको उनले जानकारी दिए । ‘बागमती नदी सधैँ एउटै धारबाट बग्दैन । यता धार भएर बगेको बेला हाम्रो भूमि बगाएर लैजान्छ,’ उनले भने, ‘कुनै समय नदीको क्षेत्रमा धार बनाएर बग्छ ।’ नदीले धार परिवर्तन गरेको समयमा सो क्षेत्रमा खेतीपाती गर्ने उनले बताए । 

बागमती नदीले मात्रै नभई धाप  र बकैयाँ नदीले पनि पालिकामा धेरे क्षति गर्दै आएको उनको भनाइ छ । सो क्षति कम गर्नको लागि गाउँपालिकाले हालसम्म कुने योजना नबनाएको उनले सुनाए । 

बृहत रुपमा काम गरे मात्रै सो समस्याको समाधान हुने उनले जानकारी दिए । ‘समस्या समाधानको लागि करोडौँको लगानी चाहिन्छ । तर त्यो बजेट पालिकासँग छैन,’ उनले भने, ‘यसको लागि अन्य निकायले पनि समन्वय गर्न आवश्यक छ ।’

बाढी धेरे आउने समयमा गाउँपालिकाले केही बाँस खरिद गरेर बाँध निर्माण गरी क्षति न्यूनीकरण गर्दै आएको उनले सुनाए । तर सो प्रभावकारी नहुने भएकाले ‘बालुवामा पानी खन्याए’ झैँ भएको उनी बताउँछन् ।