close

‘बालेन फकाउँदै, सरकार टाउकोमा लट्ठी बजार्दै’

सचिवालयका कर्मचारीले उठाउँछन् ‘पारदर्शी!’ मेयर साहको निजी मोबाइल

‘बालेन फकाउँदै, सरकार टाउकोमा लट्ठी बजार्दै’

सचिवालयका कर्मचारीले उठाउँछन् ‘पारदर्शी!’ मेयर साहको निजी मोबाइल

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको नेतृत्व गर्ने काठमाडौँ महानगरपालिकामा सधैँ नै फोहरको विषय नै प्रमुख राजनीतिक मुद्दा हुने गरेको छ । 

काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएसँगै बालेन साहले पनि यहाँको फोहरलाई पनि चुनावी अस्त्र बनाएका थिए । काठमाडौँको फोहरको तत्काल र दीर्घकालीन व्यवस्थापनलाई प्राथमिकतामा राख्ने दाबी गरेका थिए ।

साहले मेयरको शपथ लिएको डेढ साता बितेपछि आज पहिलो पटक केही मात्रामा भए पनि काठमाडौँको फोहर उठेको त छ । तर, प्रहरीको बल प्रयोग गरेर । 

सहरी विकास मन्त्रालयले काठमाडौँको फोहर व्यवस्थापन गर्न तयार पारेको बञ्चरेडाँडाबासीले एक दिन अगाडि गरेको सहमतिलाई अस्वीकार गर्दै फोहर बोकेर गएका टिपरहरूलाई रोकेका थिए ।

सिसडोल र बञ्चरेडाँडाका स्थानीयलाई फकाउन निरन्तर ती स्थानमा पुगेका मेयर साहको डेढ साता लामो प्रयास र वाचालाई त्यहाँका स्थानीयले पत्याउन सकेनन् । जसले गर्दा मंगलबार प्रहरीको बल प्रयोग गरेर बञ्चरेडाँडामा फोहर व्यवस्थापन गरिएको छ ।

पहिलो गाँसमा ढुङ्गा भने झैँ पटक पटक स्थानीयबासीलाई मनाउने प्रयासबाट थाकेका मेयर साहले अत्यन्त बल प्रयोग गरेर फोहर व्यवस्थापन गर्नु पर्ने भएको छ ।

मंगलबार फोहर बोकेका कन्टेनरलाई अवरोध गर्न प्रहरीसँग झडपमा उत्रिएका स्थानीयबासी मध्ये केही चोटग्रस्त समेत बनेका छन् । आक्रोशित स्थानीयबासीले मेयर साह उधारो प्याकेज लिएर फकाउन आएको दाबी गर्छन् । भन्छन्, ‘मेयर फकाउँछन्, सरकार बल प्रयोग गर्छ । हामी आफ्ना जायज माग पुरा नभएसम्म फोहर फाल्न दिँदैनौँ ।’

सोमबार मात्रै सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौँको फोहर व्यवस्थापनका लागि स्थानीय बासिन्दा, जनप्रतिनिधि लगायत सरोकारवालाहरूसँग छलफल गरेकी थिइन् । सो बैठकले स्थानीय माग सम्बोधन गरेर आजैदेखि बञ्चरेडाँडा ल्यान्डफिल्ड साइडमा फोहर व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

सो छलफलको क्रममा फोहरबाट प्रभावित स्थानीय तहका प्रमुखहरूले स्थानीयबासीको मागलाई हलुकासँग नलिन आग्रह गरेका थिए ।
छलफलमा धादिङको धुनीबेंशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइड व्यवस्थापन सबैको साझा दायित्वको विषय भएको र यसका व्यावहारिक पक्षमा ध्यान दिन आवश्यक रहेको भनाइ राखेका थिए । साथै उनले साइडमा फालेको फोहर उचितरूपमा व्यवस्थापन गर्नुपर्ने अवगत पनि गराएका थिए ।

एक दिन अघि सबैका अगाडि काठमाडौँको फोहर व्यवस्थापनमा सहमति जनाएका धुनीबेंशी नगरपालिकाका मेयर आचार्य त्यसको भोलिपल्टै आफूले गरेको सहमतिबाट पछाडि हटेका छन् । पालिका खबरसँग कुरा गर्दै उनले भने, ‘हिजो भएका सहमति सार्वजनिक भएकै छन् । आज के भयो मलाई थाहा छैन । काठमाडौँ कै मेयरलाई सोध्नु होला नि ।’

यति भन्दै आफू व्यस्त भएको बहाना बनाउँदै उनले फोन समेत काटे ।

बैठकमा सहभागी नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले सरकारले फोहर व्यवस्थापनको नीति मात्र बनाउने तर, कार्यान्वयनमा गर्ने गरेको बताएका थिए । साथै उनले शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्वअन्तर्गत पर्ने भएकाले आयोजना प्रभावितलाई सरकारले विशेष सम्बोधन गर्नुपर्ने समेत बताएका थिए ।

बैठकमा उपस्थित मेयर साहले समेत निर्णयमा सहमति जनाएका थिए । तर, उनले सहजरुपमा आज काठमाडौँको फोहर व्यवस्थापन गराउन सकेनन् । दुर्गन्धित बनेको काठमाडौँको फोहर स्थानीयको विरोध हुँदा हुँदै जबरजस्ती धादिङबासीको आँगनमा फाल्न उनी बाध्य बनेका छन् ।

यस विषयमा मोबाइलमा सम्पर्क गरेर कुरा गर्न खोज्दा मेयर साहले समेत बोल्न चाहेनन् । उनी बैठकमा व्यस्त भएको बहाना बनाउँदै उनको सचिवालयका कर्मचारीले उनलाई मोबाइल दिएनन् ।

हरेक निर्णयमा पारदर्शी बन्छु भनेर मत मागेका मेयर साहले मिडियासँग समेत दुरी बढाउन थालेपछि कसरी पारदर्शी बन्लान् ?  महानगरपालिकाको वेभ साइटमा राखिएको मोबाइल नम्बरमा फोन गर्दा सचिवालयका कर्मचारीले उठाउँछन् भने उनी कसरी जनतासँग नजिक हुन सक्लान् ?