close

न्यायिक समितिद्वारा २१८ उजुरी मिलापत्र

न्यायिक समितिद्वारा २१८ उजुरी मिलापत्र

Trulli
ADVERTISEMENT

काठमाडौं । घोराही उपमहानगरपालिकाको न्यायिक समितिले चालू आर्थिक वर्षमा असार १५ सम्म २१८ उजुरी मिलापत्र गराएको जनाएको छ ।

गत आवको जिम्मेवारी सरेर आएका १०५ र नयाँ दर्ता भएका १३४ सहित २३९ मुद्दा दर्ता भएकोमा अधिकांश उजुरी मिलापत्र भएको न्यायिक समिति संयोजक एवं उपप्रमुख हुमाकुमारी डिसीले जानकारी दिए । 

आव २०७८/७९ को साउनदेखि असार १५ सम्म न्यायिक समितिले गरेका कामबारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा न्यायिक समिति संयोजक डिसीले हाल २१ उजुरी प्रक्रियामा रहेको जानकारी दिए । 

उनका अनुसार, जग्गा रोक्कासम्बन्धी उजुरी पर्ने गरेको छ । घरायसी विवाद वा कुनै शङ्का लागेमा परिवारजनबाटै उजुरी गर्न आउने गरेकाले अरु विषयमा भन्दा जग्गा रोक्कासम्बन्धी उजुरी धेरै मात्रामा पर्ने गरेको छ ।

जग्गा रोक्काका १२९ उजुरी परेकोमा १२८ मिलापत्र भइसकेको छ । जग्गा विवादका ५० उजुरी परेकोमा ४० मिलापत्र भएको र १० प्रक्रियामा रहेका, अन्य शीर्षकमा पनि २४ उजुरी परेकोमा १८ मिलापत्र भएको तथा ६ प्रक्रियामा रहेको छ । लेनदेनका १४, कुलोपानीको तीन, मानाचामलको चार उजुरी परेकोमा सबै मिलापत्र भएको छ ।