close

बुढीगंगाको निर्वाचनमा ९५ कर्मचारी खटाइयो, सुरक्षा व्यवस्था कडा

बुढीगंगाको निर्वाचनमा ९५ कर्मचारी खटाइयो, सुरक्षा व्यवस्था कडा

Trulli
ADVERTISEMENT

बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते (बिहीबार) हुने निर्वाचनको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । 

निर्वाचनको लागि १९ जना मतदान अधिकृत र १९ जना सहायक मतदान अधिकृत र सहायक कर्मचारी गरी ९५ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिए ।

१९ मतदान अधिकृतमध्ये एक जना महिला मतदान अधिकृत खटाइएको छ । जिल्ला अस्पताल बाजुरामा कार्यरत धनकला थापालाई बुढीगंगा नगरपालिका–१ धुरालसैन मतदान केन्द्र ‘क’ मा मतदान अधिकृतका रूपमा खटाइएको छ । 

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षणपछि मतदान केन्द्रमा पठाइएको हो ।

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनअन्तर्गत बुढीगंगामा निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान नभएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो ।

सर्वदलीय बैठकमा असार २३ गते बुढीगंगामा पुनः निर्वाचन गर्ने सहमति भएको थियो । 

बुढीगंगाका वडा नम्बर २, ३, ५ र ९ वडामा नेकपा एमालेका नेता तथा कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लगाउँदै नेपाली कांग्रेसले पुनः मतदान गर्न माग गर्दै आएको थियो । 

एमालेले भने कुनै पनि वडामा बुथ कब्जा नभएको र स्वतन्त्र रूपमा मतदान भएको भन्दै पुनरावेदन र सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला सुरक्षा समिति बाजुराले जनाएको छ । १९ वटै मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटाइएको छ ।