close

सैनामैनामा सुकुम्बासी जग्गा नापजाँच सुरु, लालपूर्जा वितरण गर्ने मेयरको प्रतिवद्धता

सैनामैनामा सुकुम्बासी जग्गा नापजाँच सुरु, लालपूर्जा वितरण गर्ने मेयरको प्रतिवद्धता

Trulli
ADVERTISEMENT

रुपन्देही । सैनामैना नगरपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरु भएको छ । 

सैनामैना नगरपालिका वडा नम्बर १ बाट जग्गा नापजाँच सुरुवात गरिएको हो । 

सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले सैनामैनाका सबै सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने प्रतिवद्धता व्यक्त गरे । 

हिजो कसले के गरे के गरेन भन्दा पनि आफूले आफ्नै कार्यकालमा लालपुर्जा आम नागरिक एवं सर्वसाधारणको हातहातमा थमाउने नगरप्रमुख शर्माले बताए ।

भूमि आयोगले गर्ने सबै काममा आवश्यक पर्ने सहयोग र सहकार्यका लागि नगरपालिका तयार रहेको उनले बताए ।

उनले सबै राजनीतिक दल, जनप्रतिनिधिहरु, कर्मचारी र स्थानीय नागरिक, पत्रकार सबैले भूमि समस्या समाधान गर्नका लागि भूमिका खेल्न आग्रह समेत गरे । एक बित्ता वा एक हात जग्गाका लागि एकआपसमा नलड्न समेत उनले आग्रह गरे । 

राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरि बहादुर आचार्य क्षेत्रीले जग्गा नापी गर्ने क्रममा नापी टोलीलाई सहयोग गरिदिन आग्रह गरे । उनले भने, 'नापी सुरु भए पनि पहिलेको जस्तै धोका हुने हो कि, नापी त सुरु भयो तर पहिलेको जस्तै ढिलासुस्ती गर्ने हुन कि । चुनावी नारा मात्र हुन् कि !, भन्ने जनतामा आशंका उत्पन्न भएको होला । अब ढिलासुस्ती हुँदैन ।'

उनले भने, ‘संविधानले प्रदत्त गरेको अधिकारले भूमिहिन दलित, सुकुम्बासीलाई भोगचलन गरे अनुसारको जग्गा दिने भनिएको छ र एक पटकका लागि सबै सुकुम्बासीलाई जग्गाधनी लाजपुर्जा उपलब्ध गराउने छौँ ढुक्क हुनुस् ।’ 

'जग्गा नापजाँचमा जग्गाधनी समयमा आएनन् । विवाद भयो भने काममा ढिलाई हुनसक्छ’, उनले भने, ‘बर्खाको समय छ लगत्तै चुनाव नजिक आउँदैछ । काम ढिला भयो भने लालपुर्जा पाउने काममा पनि ढिलाई हुनसक्छ तसर्थ समयमै काम सम्पन्न गर्नका लागि जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय सबैले मिलेर काम गर्न आवश्यक छ ।'

सैनामैना नगरपालिकालाई आफूले रुपन्देहीमा नै दोस्रो नम्बरमा पारेको उनले बताए । उनले यसअघि नै देवदहमा जग्गा नापजाँच भइसकेको उनले जानकारी दिए ।

सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले अब धेरै व्यक्तिको जग्गाको विषयमा लिएर रहेका टिकाटिप्पणी यथाशिघ्र समाधान गरी जग्गा नापजाँच प्रक्रियालाई सजिलैसँग अगाडि बढाइदिन आग्रह गरिन् । 

सैनामैना नगरपालिकाका निवर्तमान मेयर चित्र बहादुर कार्कीले यो भन्दा अगाडि नै अन्य प्रक्रियाहरु पूरा भइसकेको र अन्त्यमा जग्गा नापजाँच गर्न मात्र बाँकी रहेको बताउँदै अब जग्गा नापजाँच सजिलैसँग अगाडि बढ्ने बताए ।

वडा नम्बर १ का अध्यक्ष भुवनसिंह क्षेत्रीले वर्षौदेखि बसोबास गर्दै आएका भूमिहीनलाई जग्गा आफ्नै नाममा गर्ने गरी काम अगाडि बढाइएकाले जग्गा नापीमा सहयोग गर्न आग्रह गरे ।