close

तिलोत्तमा घटना : एमाले भन्छ, राज्य शक्तिको दुरुपयोग भो! मेयर भन्छन्, सामान्य विवाद

तिलोत्तमा घटना : एमाले भन्छ, राज्य शक्तिको दुरुपयोग भो! मेयर भन्छन्, सामान्य विवाद

Trulli
ADVERTISEMENT

रुपन्देही । हिजो (आइतबार) तिलोत्तमा नगरपालिकाको नगरसभामा सहभागी वडाध्यक्षलाई प्रहरी नायब उपरिक्षक (डिएसपी) ठगबहादुर केसीले धकेलेर स्विमिङपुल डुबाएको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । 

गत शुक्रवारदेखि नै नगरसभाको विषयमा एमाले र नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि बीच विवाद भइरहेको थियो । नेपाली काँग्रेसबाट निर्वाचित नगरप्रमुख रामकृष्ण खाँण र केही जनप्रतिनिधि नगरसभाबाट बजेट मात्रै पास गर्ने पक्षमा थिए । 

तर एमालेबाट निर्वाचित उपप्रमुख र अरु जनप्रतिनिधिले बजेटसँगै न्यायिक समिति, लेखा समिति, विधायन समिति र सुशासन समितिसमेत गठन गर्नुपर्ने अडान लिएपछि विवाद सिर्जना भएको थियो ।

यसैबीच आइतबार नगरसभामा सहभागी वडा नंं. ४ का  वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई धकेलेर पानीमा डुबाएको घटनापछि नगर प्रमुख  खाँणको निकै आलोचना भइरहेको छ । गृहमन्त्री बालकृष्ण खाँणका भाई मेयर खाँणले राज्य शक्तिको आडमा प्रहरी लगाएर जनप्रतिनिधिमाथि दुर्व्यवहार गरेको आरोप खेप्नु परेको छ । 

जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत बीच विवाद बढ्दै गएपछि उत्पन्न परिस्थितिलाई साम्य पार्न गएको प्रहरीले वडाध्यक्षलाई पानीमा धकेलेको दृश्य सार्वजनिक भएको भिडियोमा देख्न सकिन्छ । वडाध्यक्ष क्षेत्रीलाई इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक केसीले स्वीमिङ पुलमा हुत्याएका भिडियोमा देखिन्छ ।

विवाद साम्य पार्न गएको प्रहरीले दुर्व्यवहार गरेको भन्दै वडाध्यक्ष क्षेत्रीले 'यहाँभन्दा अन्याय अरु के हुन्छ ?' भन्दै प्रश्न गरेका छन् । 'नागरिकको जिउज्यानको सुरक्षामा अहोरात्र खटिनुपर्ने प्रहरी आफै जनप्रतिनिधिमाथि जाईलाग्नु निकै दुखदायी घटना हो', वडाध्यक्ष क्षेत्रीले आक्रोेशित हुँदै भने, 'यस्तो पनि गर्ने हो ?'

आइतबारको बैठकमा आफुहरुलाई उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्न रोक लगाएको भन्दै आक्रोशित एमालेका जनप्रतिनिधिहरुले प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई घेरा हालेर नियन्त्रणमा लिन खोजेपछि उद्वारको लागि प्रहरी परिचालन गरिएको भनाइ प्रहरीको छ ।

पूर्वमेयर बासुदेव घिमिरेकाे प्रतिक्रिया

यहाँले उत्कृष्ट बनाएको नगर त विवादमा उत्कृष्ट भयो नि ? भन्ने पालिकाखबरको प्रश्नमा पूर्वमेयर बासुदेव घिमिरे भने, 'उममेयरसहित एमालेको बहुमत छ, मेयर अल्पमतमा हुनुहुन्छ । बजेट पास गराइहाल्ने र न्यायिक समिति गठन नगर्ने मेयरको उदेश्य हो । भोलि अपजस आउँदा एमालेका कारण यस्तो भयो भन्ने पार्ने उहाँको कुनियत प्रष्ट देखिन्छ ।' 

'विधिसम्मत तरिकाले बजेटसँगै न्यायिक समितिलगायतका समिति गठन गरेर जानुपर्ने' उनले बताए । शक्तिको आडमा बल प्रयोग गर्ने गतिविधि नगर्न उनले वर्तमान मेयर खाँडलाई चेतावनी दिए ।

'सबैजना विधिमा चल्नुपर्छ, शक्तिको आडमा बल प्रयोग गर्ने, महिलामाथि हातपात गर्ने यस्तो कतै नभएको अराजकता यहाँ (तिलोत्तमामा) भयो ।' घिमिरेले भने, 'गृह प्रशासनको आडमा दमन भएको छ यो सह्य हुँदैन ।' 

जनप्रतिनिधिलाई नियतवस पानीमा धकेल्ने प्रहरीलाई समेत कारबाही हुनुपर्ने उनले बताए । 

धक्का-मुक्का भएको छैन: प्रहरी

लुम्बिनी प्रदेशका प्रहरी नायब महानिरीक्षक नलबहादुर उपाध्यायले भने उक्त कार्यक्रममा धक्का-मुक्का नभएको पालिकाखबरसँग दाबी गरे । 

उनले भने, 'त्यहाँ कुनै धक्का मुक्का भएको थिएन । केही जनप्रतिनिधिहरुबाट कर्मचारीलाई बाहिर निस्कन नदिने अवस्था उत्पन्न भएको थियो, कर्मचारीलाई बाहिर निकाल्ने क्रममा उहाँ (वडाध्यक्ष) आफै लड्नुभएको भन्ने जानकारी आएको छ ।'

प्रशासनको आडमा ताण्डव

नेकपा एमालेका प्रदेश कमिटी सदस्य मोहन चापागाईले प्रहरी नायब उपरीक्षक केसीले क्षेत्रीमाथि पदीय मर्यादा विपरित ज्यादती गरेको बताए । उनले भने, 'प्रशासन र गृहमन्त्रीको आडमा भएको यस्तो ताण्डवले नगरको विकास हुँदैन, दोषीलाई तत्काल कारबाही हाेस् ।'

प्रहरी नायब उपरिक्षक केसीले वडा अध्यक्ष क्षेत्रीमाथिको ज्यादतीप्रति एमालेका जनप्रतिनिधिहरुले चर्को विरोध गरेका छन् । 

सहमति हुन्छ: मेयर खाँण

घटनाबारे नगर प्रमुख रामकृष्ण खाँणसँग जिज्ञासा राख्दा हिजो सामान्य विवाद भएको बताए । समितिहरु साझा हुनुपर्नेमा न्यायिक समितिमा सबै सदस्य उहाँ (उपप्रमुख)ले भनेको व्यक्ति राख्नुपर्ने कुरामा सहमति हुन नसेकेको मेयर खाँणले बताए । भोलि बस्ने नगरसभामा सहमति हुने उनले बताए ।