close

भाडा तिर्दा-तिर्दा पालिका गरिब भइसक्यो : अध्यक्ष यादव

भाडा तिर्दा-तिर्दा पालिका गरिब भइसक्यो : अध्यक्ष यादव

Trulli
ADVERTISEMENT

महोत्तरी । 'जनप्रतिनिधि र कर्मचारीले चढ्ने गाडी, पालिका भवनदेखि वडा भवनसम्म भाडा तिर्दानै मासिक लाखौं खर्च हुन्छ, प्रमुख प्रशासकीय अधिकृत र मैले चढ्ने गाडीको मासिक भाडामात्र २ लाख १० हजार तिर्नुपर्छ ।' सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वरप्रसाद यादव पालिका खबरसँग दु:खेसो पोख्छन् । 

अधिकांश स्थानीय तहले नीति तथा कार्यक्रम पारित गरिसक्दा पनि  सोनमाको बजेट पारिन हुन सकेको छैन । कांग्रेस र जनता समाजवादीको विरोधका कारण अझै पारित हुन नसकेको अध्यक्ष यादव बताउँछन् । 

'कांग्रेस र जसपाबाट निर्वाचित वडामा एक करोड पारित हुनुपर्छ भनेर सिलिङ माग आएको तर, गाउँपालिकाले ८० लाख मात्र दिन सक्ने क्षमता राख्छ ।' अध्यक्ष यादवले भने । उनका अनुसार निरन्तर छलफल र वार्ता भइरहेको छ । उनका अनुसार साउन १५ भित्र बजेट पारित गर्ने गरी छलफललाई तीव्र बनाइएको छ । उनका अनुसार सहमति अझै नभएकोले रोकिएको हो । 

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार असार १० भित्र सबै स्थानीय सरकारले बजेट ल्याउनुपर्ने हुन्छ । तर अझै ५३ स्थानीय तहले बजेट पारित नगरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले पालिका खबरसँग बताए । प्रवक्ता अधिकारीका अनुसार ल्याउनुपर्छ भनेर ऐनले भने पनि नल्याउँदा के कारबाही हुन्छ भनेर कतै उल्लेख नभएकोले  बजेट पारित नगर्ने स्थानीय सरकारले समयको चासो नगरेको मन्त्रायले जनाएको छ ।   

आर्थिक वर्ष लागिसके पनि सोनमा गाउँपालिकाले बजेट ल्याउन सकेको छैन । त्यस्तै ८ वटा वडा, पालिकाको भवन र पालिकाका जनप्रतिनिधि र कर्मचारीले चढ्ने सबै सवारी भाडामा लिइएको सोनमा गाउँपालिकाका अध्यक्ष यादवको भनाइ छ ।

उनका अनुसार आगामी नीति तथा कार्यक्रममा सबै वडा र पालिकाको प्रशासनिक भवन निर्माणको सुरुवात गर्ने प्रस्ताव गरेको उनले बताए । पालिकाको सबै वडा र पालिकाको भवन मात्र आफ्नो बनाउन सके वार्षिक करोडभन्दा बढी रकम विकासमा खर्च गर्न सकिने उनको भनाइ छ । साथै हरेक वर्ष ५ किलोमिटर सडक कालोपत्रे गर्ने गाउँपालिकाको योजना छ ।