close

सिंजा पालिकामा शौचालय निर्माणपछि विद्यार्थीलाई सहज

सिंजा पालिकामा शौचालय निर्माणपछि विद्यार्थीलाई सहज

Trulli
ADVERTISEMENT

जुम्ला ।एक दशकअघि विद्यालयमा खानेपानी र शौचालय नहुँदा बीचमै कक्षा छोडेर घर जानुपर्ने अवस्था थियो । तर, अहिले त्यो अवस्था परिवर्तन हुँदै आएको छ । 

विद्यालयमै सुविधा सम्पन्न शौचालय र खानेपानी धारा निर्माण भएपछि विद्यार्थीलाई सहज भएको छ । 

सिंजा गाउँपालिका–४ शारदा आधारभूत विद्यालय र कनकासुन्दरी गाउँपालिका–३ नवदुर्गा आधारभूत विद्यालयमा सुविधा सम्पन्न शौचालय र खानेपानीका धारा निर्माण भएपछि विद्यार्थीलाई सहज भएको हो । 

वर्षौंदेखि शौचालय भए पनि पानी नहुने र छात्र तथा छात्राका लागि छुट्टाछुट्टै शौचालय नहुँदा विद्यार्थीलाई समस्या हुने गरेको थियो । 

विद्यार्थीहरूले भोग्दै आएको समस्यालाई मध्यनजर गरी महिला, पुरुष र अपाङ्गमैत्री शौचालय निर्माण सम्पन्न भएपछि विद्यार्थी, शिक्षक र अभिभावकलाई राहत मिलेको छ ।

प्लान इन्टरनेसनल नेपाल र पेस नेपाल जुम्लाको साझेदारीमा सञ्चालित खानेपानी, सरसफाई स्वच्छता तथा उत्थानशीलता परियोजनाको १३ लाख ७२ हजारमा शारदा आधारभूत विद्यालयमा र १३ लाख ६४ हजार ७ सय ९७ रुपैयाँको लागतमा नवदुर्गा आधारभूत विद्यालयमा शौचालय निर्माण सम्पन्न भएको पेस नेपाल जुम्लाले जनाएको छ । 

शौचालयसँगै दुई लाख २१ हजार चार सय ३३ रुपैयाँको लगानीमा दुवै विद्यालयमा बालमैत्री खानेपानी धारा पनि निर्माण गरी प्रयोगमा आएका छन् । 

सारदा आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वराज श्रेष्ठले शौचालय र बालमैत्री धारा निर्माणले विद्यालय र विद्यार्थीको सरसफाइमा सहयोग पुग्नुका साथै गुणस्तरीय शिक्षामा पनि टेवा मिल्ने विश्वास गरिएको बताए । 

यसैगरी, नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक हरिबहादुर बुढाले शौचालय र खानेपानीको अभावमा विद्यार्थी अनियमित हुने क्रम भंग हुने भन्दै विशेष छात्रालाई यसले सकारात्मक प्रभाव पारेको बताए । 

शौचालय र बालमैत्री धारा निर्माण भएसँगै सारदा आधारभूत विद्यालयका ९४ जना छात्रा तथा ९० जना छात्र र नवदुर्गा आधारभूत विद्यालयका ३४ छात्रा र ३० छात्र लाभान्वित भएका छन् ।

विगत तिन वर्षदेखि प्लान इन्टरनेसन नेपाल र पेस नेपाल जुम्लाले सामुदायिक विद्यालयमा खानेपानी, सरसफाई स्वच्छता प्रवर्द्धनका लागि स्थानीयस्तरमा रहेका सामुदायिक विद्यालयको संस्थागत सवलीकरण तथा गुणस्तरीय शिक्षाका लागि सरसफाई कार्यक्रममार्फत जनचेतना अभिवृद्धि, स्वच्छ खानेपानीको सहज आपूर्ति, महिनावारी व्यवस्थापनलगायत क्षेत्रमा काम गर्दै आएका छ ।