close

बुटवल उपमहानगरमा पुनः जग्गाको लगत संकलन

बुटवल उपमहानगरमा पुनः जग्गाको लगत संकलन

Trulli
ADVERTISEMENT

रुपन्देही ।  बुटवल उपमहानगरपालिकाले पुनः जग्गाको लगत संकलन सुरु गरेको छ । 

बुटवल उपमहानगरपालिकाको वडा नं. १२ सहितका केही वडामा लगत संकलन कार्य जारी रहेको नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए । 

लगत संकलनको काम सकिएपछि कार्यपालिकाको बैठकले जग्गाको नापजाँचका लागि राष्ट्रिय भूमि आयोगबाट अनुमति लिने उनले बताए । 

‘अहिले कुन जग्गा व्यक्तिको हो, कुन जग्गा सार्वजनिक हो, कहाँ बस्ती बसेको छ, कहाँ छैन भन्ने लगत संकलनको काम हुन्छ,’ उनले भने, ‘त्यसपछि पनि कसैको जग्गाको लगत संकलन गर्न छुटेको छ कि भनेर १५ दिने सूचना जारी गछौँ । कार्यपालिकाको बैठकले भूमि आयोगसँग जग्गा नापजाँचका लागि अनुमति लिएर जग्गाको नापजाँचको काम सुरु हुन्छ ।’ 

गत जेठ ९ मा उपमहानगरपालिकाको प्रमुख पदमा बहाली गर्दै नगरप्रमुख पाण्डेयले सुुकुम्बासी, भूमिहीनलाई जग्गा उपलब्ध गराउन अव्यवस्थित बसोबासी, सुकुम्बासीको अल्पकालीन र दीर्घकालीन व्यवस्थापन गर्ने निर्णय गरेका थिए । 

सोहीअनुसार स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारबमोजिम सार्वजनिक, ऐलानी र पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने काम नगरले अघि बढाएको प्रमुख पाण्डेयले बताए । 

जग्गाको लगत संकलनका लागि नगरले स्थानीयसँग छलफल पनि थालेको छ । सोमबार बुटवल १२का बासिन्दाहरूबिच छलफल गरेको नगर प्रवक्ता शिव रानाले जानकारी दिए । 

स्थानीयले राखेका जिज्ञासाको जवाफ दिँदै नगरप्रमुख पाण्डेयले छिटै नै बुटवल उपमहानगरपालिकाले जग्गाको लगत संकलन गरेर भूमि आयोगलाई बुझाउने र सोही आधारमा लालपुर्जा वितरण हुने बताएका थिए । 

कार्यक्रममा बोल्दै राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले बुटवल उपमहानगरपालिकाले दिएको लगत र तथ्यांकका आधारमा लालपुर्जा वितरणको प्रक्रिया अघि बढ्ने बताए । 

बुटवल उपमहानगरपालिका वडा नं १२ का अध्यक्ष डिल्लीप्रसाद शर्माले लगत संकलनका क्रममा सहयोग गर्न स्थानीयलाई अनुरोध गरेका थिए । 

राजनीतिक दलका स्थानीय प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्षहरू र स्थानीयले नगरपालिकाले गरेको लगत संकलनका आधारमा भूमिहीनलाई लालपुर्जा दिनुपर्ने बताएका थिए । 

बुटवल उपमहानगरपालिकामा यसअघि नै गरिएको तथ्याङ्क संकलन अनुसार करिब १७ हजार सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिए ।