close

रुपन्देहीको जलस्रोत तथा सिँचाइ डिभिजन विकासको प्रगति ७५.७५ प्रतिशत

रुपन्देहीको जलस्रोत तथा सिँचाइ डिभिजन विकासको प्रगति ७५.७५ प्रतिशत

Trulli
ADVERTISEMENT

रुपन्देही । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रुपन्देहीले गत आर्थिक वर्षमा ७५ दशमलव ७५ प्रतिशत प्रगति हासिल गरेको छ ।

कार्यालयले आर्थिक वर्ष ०७८/७९ मा रुपन्देहीमा सञ्चालित जल उत्पन्न प्रकोप नियन्त्रण र सिँचाइ विकासका लागि कुल विनियोजित बजेट ३१ करोड ८० लाखमध्ये २३ करोड ५८ लाख रुपैयाँ खर्च भएको जनाएको छ । 

जिल्लाभर कुल ८३ वटा योजनाका लागि संघको ससर्त अनुदानतर्फ १४ करोड ८० लाख र समानीकरण अनुदानतर्फ १६ करोड ३३ लाख बजेट विनियोजित गरिएको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष ०७८/७९ मा सम्पन्न योजनाको संक्षिप्त विवरणसहित वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै कार्यालय प्रमुख विष्णुप्रसाद पौडेलले विभिन्न समस्या र चुनौतीको सामना गर्दै सन्तोषजनक प्रगति हासिल भएको बताए । 

जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाईंले कृषि र सिँचाइ समस्याको समाधानका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय र सहकार्य गरेर ठोस योजना तर्जुमा गर्नुपर्नेमा जोड दिए । 

सैनामैना नगरपालिका प्रमुख फणीन्द्र शर्माले स्थानीयको मागअनुसार योजना तर्जुमा गर्न आग्रह गरे । 

१६/३६ सिँचाइ प्रणालीका अध्यक्ष यज्ञ गैरेले सिँचाइ र कृषिको विकासका लागि जनताको माग र आवश्यक्ताबमोजिम कार्यक्रम बनाउनुपर्ने बताए ।