close

भक्तपुरका स्थानीय तहको बेरुजु  : ३८ करोड ४५ लाख

भक्तपुरका स्थानीय तहको बेरुजु  : ३८ करोड ४५ लाख

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुरका चार स्थानीय तहमध्ये सूर्यविनायक नगरपालिकामा सबैभन्दा बढी बेरुजु रकम देखिएको छ ।

महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार सूर्यविनायकसँगै क्रमशः भक्तपुर, चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकामा बेरुजु देखिएको छ । 

प्रतिवेदनअनुसार सूर्यविनायक नगरपालिकाको २ अर्ब ७९ करोड ८२ लाख ५२ हजार लेखा परीक्षणमध्ये १० करोड ४० लाख ४ हजार ३१ हजार रुपैयाँ बेरुजु देखिएको छ । यो बेरुजु ३ दशमलव ७२ प्रतिशत हो । 

भक्तपुर नगरपालिकामा ३ दशमलव ३१ प्रतिशत बेरुजु देखिएको छ । सो नगरपालिकामा ९ करोड ७६ लाख २९हजार बेरुजु देखिएको छ । 
यसैगरी, चाँगुनारायण नगरपालिकाको ७ करोड ४० लाख ३० हजार अर्थात् २ दशमलव ७३ प्रतिशत बेरुजु देखिएको छ । 

प्रतिवेदनअनुसार मध्यपुर थिमि नगरपालिकामा जिल्लाको सबैभन्दा कम बेरुजु रहेको स्थानीय तह हो । 

यस पालिकामा शून्य दशमलव ९७ प्रतिशत बेरुजु छ । १ करोड ६४लाख ७८ हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनले जनाएको छ । 

कुन तहमा कसरी बेरुजु ?
सूर्यविनायक नगरपालिकाले विधिकोष सञ्चालन र परिचालन शीर्षकअन्तर्गत मर्मत सम्भार र विपद् व्यवस्थापन कोषमा ३ करोड जम्मा गरेको छ । 

खर्च कार्यविधिको अभावमा विशेष कोषको रकम उपयोग भएको छैन । खर्च गर्ने कार्य विधि एवं मापदण्ड बेगर कोषहरूमा रकम ट्रान्सफर गरी खर्च देखाउन मिल्दैन । कोष स्थापना एवं सञ्चालन गर्नुपर्ने भएमा कानुनमा व्यवस्था हुनुपर्ने, नेपाल सरकारबाट प्राप्त अनुदान रकम विशेष कोषमा जम्मा गर्न नमिल्ने हुँदा उक्त रकम सञ्चित कोषमा फिर्ता हुनुपर्छ । 

स्थानीय तहका कर्मचारीको तलब भत्ता सम्बन्धमा प्रदेश सरकारले छुट्टै व्यवस्था गरेको अवस्थामा पनि भक्तपुर नगरपालिकामा कार्यरत ४४८ जना कर्मचारीलाई पोसाक खर्चबापत एक महिनाको तलबबराबरको ८० लाख २४ हजार खर्च लेखेको छ । 

यसरी संघीय निजामति कर्मचारी सेवा ऐनअनुसार पोसाक ४४ लाख ८० हजार मात्र हुनेमा सोभन्दा फरक हुने गरी बढी पोसाक खर्च लेखेको रकम असुल गर्नुपर्छ ।

सरकारी कोषबाट निवृत्तिभरण पाइरहेका व्यक्ति स्थानीय तहमा निर्वाचित भएमा निवृत्तिभरण र स्थानीय तहको सुविधामध्ये एक सुविधा मात्र प्राप्त गर्ने व्यवस्था छ । यस प्रकार निवृत्तिभरण पाइरहेका मध्यपुर थिमि नगरपालिकाले तीन जनप्रतिनिधिको सुविधा ६ लाख भुक्तानी गरेको छ । निवृत्तिभरण पाएका व्यक्तिले दोहोरो सुविधा लिएकाले उक्त रकम असुल गर्नुपर्छ  ।