close

पुल बगाउँदा आवतजावतमा समस्या

पुल बगाउँदा आवतजावतमा समस्या

Trulli
ADVERTISEMENT

धनगढी । सुदूरपश्चिम प्रदेशको दुर्गम हिमाली जिल्ला दार्चुलाको अपीहिमाल गाउँपालिका–४ खण्डेश्वरीस्थित ठूलढुंगी खोलामा लगाइएको पुल बाढीले बगाउँदा आवतजावतमा समस्या आएको छ । 

मंगलबार रातिदेखिको वर्षासँगै आएको बाढीले खण्डेश्वरीको मरखोला र भट्टार गाउँ जोड्ने आरसिसी पुल बगाउँदा विद्यार्थीलाई विद्यालय आवतजावतमा समस्या भएको स्थानीय बताउँछन्  । 

लगातारको वर्षाले बुधबार बिहानै पुल बगाएपछि सरस्वती आधारभूत विद्यालय मरखोलामा अध्ययनरत विद्यार्थी जोखिम मोलेरै खोला ओहोरदोहोर गर्ने गरेका छन् । 

वर्षासँगै आएको बाढीले पुल बगाउँदा विद्यार्थीहरू ज्यानलाई जोखिममा राखेर आवतजावत गरिरहेको अभिभावक कलावती रोकायाले बताइन् । 

विद्यार्थी र स्थानीय ओहोरदोहोर गर्ने महत्त्वपूर्ण ठाउँको पुल बगाएपछि समस्या खेपिरहेको उनको भनाइ छ । पुल बगाएपछि विद्यार्थीलाई निकै जोखिम भएकाले स्थानीय सरकारको ध्यानाकर्षण गराएको उनले बताइन् । यथाशीघ्र वैकल्पिक व्यवस्था गरिनुपर्ने स्थानीयको माग छ ।

स्थानीयका अनुसार गाउँका अन्य ठाउँका बाटाघाटा बाढीपहिरो बगाएको छ । विद्यार्थीसँगै अन्य स्थानीयलाई पनि एक ठाउँबाट अर्को गाउँमा जान बाटाको समस्या भएको छ । 

अपीहिमाल गाउँपालिकाका उपाध्यक्ष देवकी बोहरा ठेकरेका अनुसार मंगलबारदेखिको वर्षाले गाउँपालिकाका धेरै स्थानमा पहिरो खसेको छ । ‘फोन समस्याका कारण खण्डेश्वरीबाहेकको गाउँमा के कति क्षति भएको छ, त्यसबारे बुझ्न स्थानीयले प्रहरीलाई अनुरोध गरेका छौँ, उनले भनिन् ।

त्यस्तै, लगातारको वर्षाका कारण लेकम गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो खसेको छ । अविरल वर्षाले लेकम गाउँपालिका–२ गराडीका नरेन्द्रसिंह कार्कीका दुई घर जोखिममा रहेको छ । जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाका अध्यक्ष रामदत्त जोशीले बताए । घरमुनिबाट पहिरो आउँदा एकै जनाका दुई घर जोखिममा परेको हो । 

अहिले पहिरो रोकिए पनि वर्षा हुने सम्भावना रहेकाले उनको आफन्तको घरमा सारिएको छ । नियमित वर्षा भइरहेकाले उच्च सतर्कता अपनाउन र यस्ता विपत्जन्य घटनाबाट बच्न स्थानीय सरकारले आग्रह गरिरहेको छ ।