close

आबुई ! यस्तो पुलमा कसरी सवारीसाधन तार्नु ?

आबुई ! यस्तो पुलमा कसरी सवारीसाधन तार्नु ?

Trulli
ADVERTISEMENT

कैलाली । मोहन्याल गाउँपालिका-७ बढीगाउँस्थित कारवा खोलाको पुल जीर्ण भइसक्दा पनि  सरोकारवाला निकायको ध्यान जान नसक्दा स्थानीयहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । पक्की पुल निर्माण नहुँदा पैदल हिँड्नै डर लाग्ने बाटोबाट स्थानीयले सवारी गुडाउँदै आएका छन् । 

जिल्लाको  दुर्गम पहाडी गाउँपालिकाअन्तर्गत पर्ने साबिक सुगरखाल गाबिसका प्राय:जसो खोलानालाहर"मा पक्की पुल नभएका कारण जोखिममा यात्रा गर्नुपर्ने अवस्था छ । खोलानालाहरूमा पुल नहुँदा स्थानीय नागरिकहरूलाई आवतजावत कष्टकर बन्दैछ । 

पक्की पुलको अभावमा आफूहरूले भोग्दै आएका समस्याहरूको बारेमा पटक-पटक स्थानीय सरकारका जनप्रतिनिधिदेखि प्रदेश र संघीय सरकारका प्रतिनिधिहरूलाई सुनाउँदा समेत कुनै सुनुवाइ नभएको स्थानीय हर्कबहादुर रावलले बताए । 

दुई दशक पुरानो काठे पुलका दुवै छेउतर्फका काठका पटेरासमेत हराइसकेका कारण पुलको छेउमा एक मिटर जति खाल्डो छ । सो पुलको बाटो भएर दैनिक बस, ट्रयाक्टर, ट्रक, मोटरसाइकलदेखि लिएर पैदलयात्रीहरूसमेत ओहोरदोहोर गर्न बाध्य छन् । 

पुल जीर्ण अवस्थामा परिणत भइसक्दा पनि पुल निर्माणमा सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानीय मानबहादुर बोहराले बताए । चिसापानी—सोल्टा सडकखण्ड अन्तरगत २३ किलोमिटर भित्र हाल दुई वटा पक्की पुल निर्माण भए पनि सागुरे, कारवा, बादेखोला र टिउली खोलामा पुल निर्माण भएको छैन ।  वर्षातको समयमा सो सडक खण्डमा यातायात सेवा अवरुद्ध हुने गर्दछ ।

विगतका वर्षहरूमा जुम्ला, हुम्ला, कालिकोट, मुगु, अछाम, पश्चिम सुर्खेत र बाजुराका मानिसहरू पैदल हिड्ने सो सडक निर्माणका लागि वर्तमान सरकार बेखबर रहेको मोहन्याल ७ बढीगाउँका समाजसेवी ध्वजबहादुर रावलले बताए ।

कर्णाली चिसापानीदेखि सोल्टासम्मको सडक निर्माणका लागि सरकारले तत्काल पहल गरेको खण्डमा सो ठाउँको पर्यटन प्रर्बद्धनमा टेवा पुग्नेमा स्थानीयवासी आसावादी छन । 

सुगम मानिएको कैलाली जिल्लाका चुरे र मोहन्याल गाउँपालिकाका सडकहरूमा पर्ने खोलानालामा पक्की पुल निर्माण नहुँदा र काठेपुलहरू हुँदा यात्रुहरूलाई आवतजावतमा समस्या भएको हो ।