close

टिपर मालिकले उपभोक्ता समिति अध्यक्षको गाई भैँसी उठाउछु भनेपछि...

टिपर मालिकले उपभोक्ता समिति अध्यक्षको गाई भैँसी उठाउछु भनेपछि...

Trulli
ADVERTISEMENT

कैलाली । भजनी नगरपालिकामा उपभोक्ता समितिमार्फत काम गरेका महिला यतिखेर घरबाट रकम तिर्नुपर्ने भएपछि समस्यामा छन् । भजनी नगरपालिका–२ पल्टुपुरका सडक निर्माण उपभोक्ता समितिका महिला काम गर्दा खर्च भएको भन्दा कम रकम पालिकाबाट पाएपछि समस्यामा परेका हुन् ।

सिमलको रुखदेखि खडक बुढाको घरसम्म बाटो ग्राभेलका लागि नगरपालिकाले पाँच लाख ५० हजार विनियोजन गरेको थियो । महिलाले त्यहाँ बाटो ग्राभेल गर्दा पालिकाबाट तीन लाख एक हजारमात्रै भुक्तानी पाएका छन् । बाटो बनाउँदा खर्च भएको एक लाख १५ हजार तिर्न बाँकी रहेपछि उनीहरु यतिखेर समस्यामा छन् ।

उपभोक्ता समितिमा स्थानीय ११ महिला छन् । महिलाले बाटो बनाउँदा टिपरलाई मात्र तीन लाख ९० हजार र जेसिबीलाई १२ हजार तिर्न बाँकी छ । अन्य काम गर्दाको खर्चको हिसाब छैन । सुरुवातमा नगरपालिकाका प्राविधिकले सडक नापेर गर्नु भने जति नै आफूहरूले काम गरेको उनीहरूले बताएका छन् । प्राविधिकले बनाएको स्टिमेटअनुसार काम गरे पनि रकम कम भुक्तानी दिँदा समस्या भएको उपभोक्ता समितिकी अध्यक्ष इन्द्रा धामी बताउछिन् । 

पालिकाका प्राविधिकले दुःख दिएको अध्यक्ष धामीको आरोप छ । पालिकाले भुक्तानी कम दिएपछि ग्राभेल हालेको रकम तिर्न नसक्दा विपन्न बस्तीका महिला तनावमा छन् । महिलालाई रकम तिर्न ताकेता गर्दै टिपर मालिकले कागज गराएर गाई भैँसी उठाउने भनेपछि उनीहरू अब रकम कसरी तिर्ने भन्ने पीरमा रहेको धामी बताउछिन् । 

महिलाले टिपर मालिकलगायतलाई गरी अझै एक लाख १५ हजार तिर्न बाँकी छ । उपभोक्ता समितिका सचिव तारा बोहरा बुढा अब बाख्रा बेचेर भए पनि ऋण तिनुपर्ने वाध्यता आइलागेको बताउछिन् । महिलाले ६२० मिटर ग्राभेल गरेको स्थानीय बताउँछन् । पालिकाले हिसाब गरेर ४८५ मिटर बाटोको कामको मात्र भुक्तानी दिएको स्थानीय मनबहादुर बुढाले बताए । 

टिपर मालिकले ग्राभेल खसालेको रकम उपभोक्ता समितिबाट असुल गर्न ४५ दिनअघि कागज गरेको थियो । उक्त म्याद आज सकिँदैछ । ९० हजार तिर्नुपर्ने भनी बनाइएको कागजमा ऋणीमा उपभोक्ता समितिका अध्यक्ष र सचिवलाई राखिएको छ भने स्थानीय भल्मन्सा बलबहादुर बुढालाई साक्षी राखिएको बुढा बताउछन् । 

स्टिमेटअनुसार ६२० मिटर सडक ग्राभेल गर्नुपर्ने छ तर ४८५ मिटरमा ग्राभेल गरिएको भजनी नगरपालिकाले जनाएको छ । नगरपालिकाका सबइञ्जीनियर भावना विष्टले कामअनुसारको पालिकाबाट भुक्तानी भएको तर नभएको कामको भुक्तानी दिन नसकिने बताए । “उहाँहरुले काम गरेअनुसार भुक्तानी दिइएको छ । रकम नपुगेको बारे मलाई थाहा छैन”, उनले भने, “हामीले नापेर भुक्तानी दिने हो । त्यहीअनुसार दिएका छौँ ।”