close

पुल अलपत्र परेपछि तोडियो ठेक्का

पुल अलपत्र परेपछि तोडियो ठेक्का

Trulli
ADVERTISEMENT

मुस्ताङ-  थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलामा पुल निर्माण अलपत्र बनाउने कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत कैकुखोला र लार्जुङखोलाको पुल अलपत्र बनाउने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको हो ।

२०–२० मिटर दूरीका दुईवटै पुल निर्माणको लागि विसं २०७५ मा गणपति निर्माण कम्पनीले बेनी–जोमसोम–कोरला सडक आयोजनासँग ठेक्का सम्झौता गरेको थियो । पटक–पटक ताकेता गर्दासमेत सन्तोषजनक काम गर्न नसकेर पुल अलपत्र बनाएपछि गत असोज अन्तिम हप्ता निर्माण उक्त कम्पनीसँगको ठेक्का तोडेर कारबाही प्रक्रिया अघि बढाइएको हो ।

केही दिनअघि मात्र सो आयोजनाबाट सरुवा भएका तत्कालीन आयोजना प्रमुख जगत् प्रजापतिले पुल अलपत्र बनाएको गणपतिसँगको ठेक्का सम्झौता तोडेर धरौटी जफत गर्नाका साथै र कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको जानकारी दिए ।

'ठेक्का तोडेको सार्वजनिक सूचना जारी गरेका छौँ', उनले भने, 'जमानत बसेको बैंकमार्फत धरौटी जफत र कालोसूचीमा राख्न सार्वजनिक खरिद कार्यालयमा सिफारिस हुन्छ ।'

सार्वजनिक खरिद ऐनको व्यवस्थाअनुसार बाँकी निर्माणकार्यको लागत पनि सोही ठेकेदार कम्पनीमार्फत असुलउपर गरिने भएको छ । पुरानो ठेक्का तोडेर अलपत्र पुललाई पूर्णता दिन नयाँ ठेक्का प्रक्रिया अघि बढाउने आयोजनाको तयारी छ ।

कैकुखोलामा २० मिटर लामो मोटरेबल पुल बनाउन तीन करोड २५ लाख र लार्जुङखोलाको पुलको तीन करोड २९ लाखमा ठेक्का सम्झौता भएको थियो । पचास–पचास प्रतिशत भौतिक प्रगति भएको दुईवटै पुलको पिलर ठड्याउने काम सकिएको छ ।

साँघुरो पुलबाट सवारीसाधन आवतजावत गर्ने लार्जुङखोलामा तीन वर्षयता पुल निर्माणको कुनै पनि काम नभएको स्थानीयवासीले बताएका छन् । कैकुखोलामा बर्खामा बाढी आउँदा सवारीसाधन आवतजावतमा समस्या हुने गरेको छ ।

त्यहाँ अस्थायी पुलमा जोखिम मोलेर सवारीसाधन वारपार गराइन्छ । गत असार महिनायता पुल निर्माणको काम नगरेका ठेकेदार कम्पनीका सञ्चालक सम्पर्कमा नआएपछि ठेक्का तोडिएको हो ।