close

लिसंखु पाखरमा असार महिना सधैं ‘होलि डे’

लिसंखु पाखरमा असार महिना सधैं ‘होलि डे’

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक- लिसंखु पाखर गाउँपालिकाले गत साउनमै ठेकेदार कम्पनी चम्पक नारायण निर्माण सेवासँग एक करोडमा वडा नम्बर-६ को भवन बनाउने सम्झौता गरेको थियो । दशै अघिमात्र निर्माण सुरु भएको सो भवनको अन्तिम भुक्तानी दिन लागेको गाउँपालिकाले जनाएको छ । 

गत आर्थिक वर्ष जेठ मसान्तभित्र सबै योजनाको अन्तिम भुक्तानी गरेर गाउँपालिकाले असार महिनालाई विकासे योजनाको हिसाबले होलिडेको रुपमा मनाएको थियो । आर्थिक वर्षको अन्तिम महिना अनुगमन, अन्तिम भुक्तानी र निर्माणका काम नहुँदा चालु आर्थिक वर्षको लागि प्रदेश र संघमा बजेट माग्न एक्सरसाइज गर्न पाउँदा पालिकामा राम्रो बजेट परेको गाउँ पालिका अध्यक्ष राजु लामाको दाबी छ । 

चालु आर्थिक वर्षमा फागुन १५ गतेभित्र उपभोक्ता समिति गठन गरेर सम्झौता नगरेमा कुनै पनि योजना कार्यान्वयन नहुने भन्दै गाउँपालिकाले माघ १८ गते बिहीबार सूचना निकाल्यो । यस वर्ष बैसाख मसान्तमै अन्तिम भुक्तानी गरी आगामी आर्थिक वर्षको योजना बनाउने, संघ र प्रदेशमाबाट बजेट ल्याउनका लागि कसरत गर्ने गाउँपालिकाको योजना छ । 

माथि उल्लेखित लिसंखु पाखर गाउँपालिकाको काम असारमा २० गतेतिर सम्झौता गरेर २४/२५ गतेनै अन्तिम भुक्तानी दिने गाउँपालिकाको लागि रोचक हुन सक्छ । तर लिसंखु पाखरले फरक तरिकाबाट काम गरिरहेको गाउँपालिका अध्यक्ष लामाको दाबी छ । गाउँपालिकाले हरेक आर्थिक वर्षमा कामलाई ३ भागमा क्रमागत गरी समयमा योजना सम्झौता गर्दै आइरहेको छ । 

उक्त विकास निर्माणको चरणअनुसार सुरुमा ठेक्का लगाउनुपर्ने योजनालाई प्राथमिकता दिई साउनमा नै सूचना निकालिएको थियो । आवेदनका आधारमा दशै अघिसम्म ठेकेदारसँग सम्झौता गरेको थियो । धेरै योजना अन्तिम चरणमा पुगेको गाउँपालिकाको दाबी छ ।

गाउँपालिकाको योजना शाखा प्रमुख प्रेम बहादुर योञ्जनका अनुसार चालु आर्थिक वर्षमा २०१ उपभोक्ता समिति वा वडामार्फत हुने  र १२ वटा योजना ठेकेदारमार्फत हुने योजनाहरू छन् । जसमध्ये ४७ वटा योजनाको अन्तिम भुक्तानी भइसकेको छ । योजनाको अन्तिम भुक्तानीको लागि लाइनमा बस्ने उपभोक्ता समिति र ठेकेदारसहित हिसाव गर्ने हो भने करिब ४० प्रतिशत काम सम्पन्न भइसकेको शाखा प्रमुख योञ्जन बताउँछन् । यसरी समयमा काम गर्दा अनुगमन गर्न सजिलो हुने, योजना टिकाउ हुने र अनियमितता कम हुने गाउँपालिकाको विश्वास छ । 

प्रभावकारी अनुगमनका लागि समयको ख्याल गरिएको गाउँपालिका अध्यक्ष लामाको भनाइ छ । गाउँपालिका अध्यक्ष लामा भन्छन्,‘असारमा बर्खे झरीका कारण अनुगमन गर्न गाह्रो हुने र हतारमा गरिने काममा अनियमितता हुने जोखिम पनि बढी हुने भएकोले विकासको काम समयमा सक्नका लागि कुनै कम्पर्माइज हुँदैन ।’ 

उनका अनुसार हतारमा बजेट सध्याएर कमसल काम हुनुभन्दा समयमा सम्झौता नगरी कुनै बजेट फ्रिज भए पनि समस्या हुँदैन । विगतका समयमा असारमा गरिएका हतारका धेरै कामहरू कमजोर भई साउनदेखिनै भत्किएको स्थानीयको गुनासोका कारण आफू निर्वाचित भएपछि सम्झौता र निर्माणको कामलाई समयमा नै सकाउने गरी लागिपरेको र सफल पनि भएको बताए । 

बिहीबारमात्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार श्रेष्ठले फागुन १५ गतेभित्र उपभोक्ता समिति गठन गरी कार्यान्वयन प्रक्रियालाई अगाडि बढाउन सबै वडा कार्यालयलाई निर्देशन दिइसकेका छन् । सो मितिपश्चात कुनै पनि योजना तथा कार्यक्रम सम्झौता नहुने समेत स्पष्ट पारेको छ । 

आर्थिक वर्षको बैसाख/जेठभित्र सबै योजनाको अन्तिम भुक्तानी भएमा अन्तिम महिना पालिकामा बजेट ल्याउनका लागि संघ र प्रदेशमा पुग्न सकिने र कसरत गर्न पाइने गाउँपालिका अध्यक्षको भनाइ छ । यसले एकातिर राम्रो काम हुन्छ भने अर्कोतिर आगामी वर्षका लागि राम्रो योजना बनाउन सकिने गाउँपालिकाले जनाएको छ ।