close

पहिरोको उच्च जोखिममा मौरीखोला

पहिरोको उच्च जोखिममा मौरीखोला

Trulli
ADVERTISEMENT

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको मौरीखोला क्षेत्र पहिराको दृष्टिकोणले उच्च जोखिममा देखिएको छ । विगत तीन वर्षयता वर्षात्को समयमा मौरीखोलामा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ । डिभिजन सडक कार्यालय चितवनले वर्षात्को समयमा सो स्थानमा जुनसुकै समय पहिरो खस्न सक्ने भएकाले असारको २ गतेबाट एक्साभेटर तयारी अवस्थामा राखेको छ ।

कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर रमेशकुमार पौडेलका अनुसार विगत वर्ष अहिलेको अवस्था र अध्ययनलाई हेर्दा सो स्थानमा पहिराको जोखिम उच्च छ । विश्व बैंकका पहिरो विज्ञसहितको प्राविधिक टोलीले दुईपटक आएर अवस्थाको अध्ययन गरेर फर्किएको छ । उनका अनुसार यकिन जानकारी आइ नसके पनि टोलीले प्रारम्भिक अध्ययनका आधारमा मौरीखोलामाथिको एकापट्टि डाँडाको भाग नै झर्न सक्ने जोखिम औँल्याएको छ । सो ठाउँमा २५ हजार घनमिटर हाराहारी पहिरो खस्न सक्ने विज्ञ टोलीको अनुमान रहेको छ । प्रमुख डिभिजनल इन्जिनियर पौडेलले भने, ‘आठ–दश हजार घनमिटरसम्म त धान्न सकिन्छ । बढी भयो भने सडक रोकेर काम गर्नुपर्छ ।’

पुल भएको ठाउँमा माथि डाँडाबाट पहिरो खस्ने गर्दछ । गत साल ड्रोन उडाएर अध्ययन गर्दै गर्दा तीन सय मिटरभन्दा अग्लो डाँडा रहेको देखिएको थियो । डाँडामाथि बाटो खन्ने गरिएकाले पनि पहिरोको जोखिम बढ्दै गएको छ । सोही क्षेत्रमा सन् २००३ मा जाइकाले पहिरो रोक्नका लागि काम गरेको थियो । पछि पहिराले तत्कालीन समयमा गरेको काम बगाएको थियो । सो सडकखण्डमा पहिराको समयमा काम गरेका शिव खनालका अनुसार भू–गर्भविद्ले गरेको अध्ययनमा सो क्षेत्रको झन्डै सात सय मिटर लम्बाइ क्षेत्र पहिरामा संरचना बनेकाले चलायमान छ । 

यसै कारण जुनसुकै बेला पहिरो खस्न सक्ने विज्ञहरूले आकलन गरेको खनालले जानकारी दिए। सो सडकको चार किलो र १८ किलोमा पनि पहिराको उच्च जोखिम देखिएको छ । ती दुवै ठाउँमा तयारी अवस्थामा लोडर राखिएको छ । यस्तै सेती दोभान र सिमलताल  पनि पहिराको जोखिममा रहेको छ । सडकका १५ वटा नयाँ पुल बन्दै गरेका ठाउँमध्ये भित्ता काटिएका ठाउँमा पहिरो खस्न सक्ने भएकाले सावधानी अपनाइएको छ । 

उनका अनुसार ती ठाउँमा पुल बनाउँदै गरेको अनक कन्स्ट्रक्सनले पहिरो पन्छाउनका लागि साधन तयारी अवस्थामा राखेको छ । सो सडकका अन्य क्षेत्रमा साना–तिन पहिरो खसिरहने गर्दछन् । पौडेलले अन्यत्र भने ठूलो समस्या नहुने बताए। उनले भने, ‘जुनसुकै ठाउँमा पहिरो खस्नासाथ पन्छाउनका लागि स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरेर काम गर्न तयारी अवस्थामा हामी छौँ ।

सडकखण्डमा निर्माण गरिँदै रहेको १९ पुलमध्ये चारवटाको निर्माण पूरा भएर हस्तान्तरण भइसकेको छ । चौधवटा पुलमध्ये केही सञ्चालनमा आएका छन् भने अन्य निर्माणाधीन रहेका छन् । नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात परियोजनाअन्तर्गत नारायणगढ–मुग्लिन सडकको ३६ किलोमिटर सडक विश्व बैंकको सहयोगमा विस्तारको काम गरिएको थियो ।

सन् २०१५ को अप्रिलमा ठेक्का सम्झौता भई रु दुई अर्ब ९० करोड खर्च गरी तीन वर्ष लगाएर सडक विस्तार गरिएको हो । सडक विस्तारपछि विश्व बैंककै सहयोगमा पुल निर्माण थालिएको हो । सोही क्रममा ३१ ठाउँका पहिरो नियन्त्रणका काम गरिएको थियो । अधिकांश ठाउँमा भित्ता काटिएको थियो । यसमध्ये सात ठाउँमा महत्वका साथ पहिरो रोक्ने काम गरिएको थियो । पहिरो रोक्ने कामका लागि मात्र रु ४० करोड खर्च भएको थियो । सडक विस्तारका क्रममा काटिएका भित्ता र ग्रामीण क्षेत्रमा जानका लागि खनिएका सडकका कारण धेरै ठाउँमा पहिराले दुःख दिने गरेको छ । यसै सडक हुँदै राजधानी काठमाडौँ, पोखरालगायतका क्षेत्र आवतजावत गर्ने गरिन्छ । यो सडकमा दैनिक १० हजार हाराहारी सवारी गुड्ने गर्दछन् ।