close

जुम्लाका तीन स्थानीय तहले भूकम्प पीडितलाई राहत रकम दिने

जुम्लाका तीन स्थानीय तहले भूकम्प पीडितलाई राहत रकम दिने

Trulli
ADVERTISEMENT

जुम्ला– यहाँका ८ स्थानीय तहमध्ये ३ स्थानीय तहले जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग गरेका छन् ।

जिल्लाको तातोपानी गाउँपालिकाले राहतका लागि दस लाख दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइँले जानकारी दिए । यसैगरी प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा पाँच लाख भूकम्प प्रभावितका क्षेत्रमा सहयोग गर्ने कार्यपालिकाबाट निर्णय भएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन् ।

भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना, पुनःनिर्माणलगायत कार्यमा सहयोग पुर्‍याउन  सिञ्जा गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । 

जाजरकोट जिल्लाको बारकोट गाउँपालिकामा केन्द्रबिन्दु भएर गत कातिक १७ गते राति ६.४ म्याग्निच्युटको  भूकम्पका कारण त्यहाँ ठूलो धनजनको क्षति भएको छ ।