close

‘काठमाडौँबाट झिमरुक चिनाउने कलाकारको हात भने रित्तै’

उपाध्यक्ष भन्छन् : १० लाख खर्च भइसक्यो, कलाकारलाई अब बिस्तारै दिइने छ

‘काठमाडौँबाट झिमरुक चिनाउने कलाकारको हात भने रित्तै’

उपाध्यक्ष भन्छन् : १० लाख खर्च भइसक्यो, कलाकारलाई अब बिस्तारै दिइने छ

Trulli
ADVERTISEMENT

काठमाडौँ । यही साता नेपाल कला परिषद्मा भएको ‘झिमरुकतिर’ नामक चित्रकला, उत्कीर्ण छापाकला, काष्ठ छापाकला तथा आलोक चित्र प्रदर्शनी २०७९ का कलाकारले आफुहरुले कुनै पारिश्रमिक नलिएको बताएका छन् । 

प्युठानको झिमरुक गाउँपालिकालाई चिनाउन आयोजनामा गरिएको प्रदर्शनीमा सहभागी १० जना कलाकारले पारिश्रमिक नलिएको गुनासो गरेका हुन् । जबकि झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले प्रदर्शनी आयोजनामा १० लाख रुपैयाँ खर्च भएको जानकारी पालिकाखबरलाई दिएका थिए । 

यस विषयमा केही दिनअघि मात्रै पालिकाखबरमा ‘काठमाडौँबाट झिमरुक हेर्दा’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । सो समाचार प्रकाशित भएपछि सो कार्यक्रममा संलग्न एक कलाकारले त्यति रकम खर्च गरिँदा समेत आफूहरूले परिश्रमिक नपाएको गुनासो पोखेका छन्। 

नाम गोप्य राख्ने सर्तमा उनले डेढ वर्षअगाडि गाउँपालिकासँग सो कार्यक्रमबारे सम्झौता भएको र सोहीअनुसार काम गरेको तर, पारिश्रमिक नपाएको बताए । 

‘तत्कालीन सांसद दुर्गा पौडेल र गाउँपालिकाको निमन्त्रणामा हामी त्यहाँ पुगेका थियौँ । बसाइ अवधिमा देखेका कुरालाई हामीले चित्रमा उतारेका हौँ,’ उनले भने, ‘तर, हामीले त्यो सिर्जना बापत खर्च लिएका छैनौँ । समाचार पढेपछि गाउँपालिकाले कलाकारको बेइज्जत गरे झैँ लाग्यो ।’

तीन महिनाका लागि भएको सम्झौतामा पालिकाले पैसा नदिएपछि व्यक्तिगत रुपमा ६ लाख रुपैयाँ खर्च गरेर आफूहरूले नै आवश्यक सामग्रीको व्यवस्था गरेको दाबी समेत उनको छ । 

खरिद गरिएका बिलबिजक अहिले पनि आफूहरूसँग सुरक्षित रहेको उनले बताए । 

कलाकारकै कारण भुक्तानीमा ढिलाइ : उपाध्यक्ष पोख्रेल

उता झिमरुक गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले यसबारे आफू केही जानकार नभएको बताएका छन् । 
उनले पालिकाखबरसँग भने, ‘यो कार्यक्रम अघिल्ला जनप्रतिनिधिको अगुवाइमा भएको हो । त्यसैले यो कार्यक्रममा म संलग्न छैन ।’ 

उनले प्रदर्शनीमा राखिएका सामग्रीलाई अहिले गाउँपालिकामा अलपत्र पारेर छाडिएको समेत जानकारी दिए । उनले भने, ‘प्रदर्शनी सकिएपछि ती सामग्री गाउँपालिकामा ल्याइएको छ । प्रशासकीय अधिकृतले हस्ताक्षर गरी बुझेका ती सामग्री अहिले अलपत्र पारेर राखिएका छन् । बाँकी कुरा उपाध्यक्षलाई सोध्नु होला ।’  

गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले भने कलाकारले काममा ढिलाइ गरेको कारण रकम भुक्तानीमा समस्या आएको बताए । उनले अघिल्लो वर्षको कार्यक्रम भएकाले असार मसान्तसम्म सबै काम सकेर रकम भुक्तानी हुनुपर्ने नियम रहे पनि काम नसकिएकाले रकम भुक्तानी गर्न नसकिएको पालिकाखबरलाई बताए । साथै उनले निकासा भइसकेको १० लाख रुपैयाँ विभिन्न शिर्षकमा खर्च भएको बताएपनि कुन शिर्षकमा कति खर्च भयो भन्न सकेनन् ।

‘उहाँहरूले नै ढिला काम सक्नु भयो । अब बिस्तारै उहाँहरूको रकम भुक्तानी हुनेछ । कन्सल्टेसीमार्फत कार्यक्रमको लागी उक्त सम्झौता भएकोले सबै रकम कन्सल्टेन्सी खातामा भुक्तानी गरिने छ,’ उपाध्यक्ष पोख्रेलको दाबी छ, ‘म र निवर्तमान अध्यक्ष रकम भुक्तानीका लागि काठमाडौँ गएका थियौँ । तर, उहाँहरूले काम सक्नु भएको रहेनछ । प्रदर्शनी पछि मात्रै ती सिर्जनाहरू झिमरुकमा ल्याउनुपर्ने सम्झौतामा रहेछ । तर उहाँहरूले साउनमा मात्रै प्रदर्शनी गर्नुभयो ।’ 

उनले असारमै रकम भुक्तानी गर्नका लागि बैठकमा कुरा उठाइएको जानकारी समेत दिएका छन् । ‘तर, सामाग्री आएपछि मात्रै भुक्तानी हुने व्यवस्था रहेकोले कलाकारलाई रकम दिन ढिलाइ भएको हो,’ उनले पालिकाखबरसँग भने । 

भिडियो बनाउने, चित्र कोर्ने, प्रदर्शनी गर्ने सम्झौता भएको हो तर, अघिल्लो वर्षको कार्यक्रम भएकाले कुन शीर्षकमा कति खर्च भएको त्यसबारे आफू जानकार नभएको उनको भनाइ छ ।

सहयोगका लागि सहभागी भयौँ : राई 

कार्यक्रममा सहभागी भएका केही कलाकारले पैसाभन्दा पनि नैतिकताका लागि सो कार्य गरेको बताएका छन् । 

चित्रकार रतनकुमार राईले सो कार्यक्रमका लागि आफ्नो नेतृत्वमा डेढ वर्षअघि गाउँपालिकासँग सम्झौता भएको पालिकाखबरलाई बताए । 
‘गाउँपालिकाले म्युजियम बनाउने निर्णय गरेको रहेछ । म्युजियम मात्रै उपयुक्त नहुने भएकाले सो क्षेत्रको परिचय झल्किने चित्र निर्माणका लागि प्रस्ताव लिएर गएँ,’ उनले भने, ‘२०७८ सालमा गाउँपालिकाले मेरो प्रस्तावलाई स्वीकार ग¥यो र हाम्रो टोली चित्र कोर्नका लागि त्यहाँ गएको हो ।’ 

गाउँपालिका भ्रमणका लागि हवाई भाडा, खान र बस्ने व्यवस्था, चित्र कोर्नका लागि आवश्यक सामग्रीको खर्च गाउँपालिका आफैँले जुटाएको उनले बताए । 

‘एउटा सानो गाउँपालिकाले त्यत्ति गर्नु नै हाम्रा लागि ठुलो कुरा थियो । जुन कार्य अरू पालिकाका लागि उदाहरण बन्नुका साथै चित्रकारहरूको पनि आम्दानीको स्रोत बन्न सक्छ । गाउँपालिकाको सहयोगका लागि त्यो कार्यक्रम गरेका हौँ, पैसाको लागि होइन’ राईले भने।  

उनीसँगै कार्यक्रममा सहभागी भएका कलाकार कुन्ती श्री थापामगरले पनि गाउँपालिकाले भ्रमण र चित्रका लागि आवश्यक खर्च गरेको बताइन् । तर, कार्यक्रमको बजेट बारे आफूलाई जानकारी नभएको थापामगरको भनाइ थियो । बजेटबारे पहिले नै जानकारी पाएको भए प्रदर्शनीको समय अझै बढाउन सकिने उनको धारणा छ ।