close

अनधिकृत संरचना हटाउन मेरो पूर्ण समर्थन छ : उपप्रमुख डंगोल

अनधिकृत संरचना हटाउन मेरो पूर्ण समर्थन छ : उपप्रमुख डंगोल

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरकी उपप्रमुख सुनीता डंगोलले महानगरमा बनेका अनधिकृत संरचना हटाउन आफ्नो पूर्ण समर्थन रहेको बताएकी छन् । 

महानगरप्रमुख अनधिकृत संरचना हटाउन आफैँ फिल्डमा उत्रिरँदा उपमेयर खोई भनी उनको खोजी भइरहँदा उनले आइतबार सामाजिक सञ्जालमार्फत् अनधिकृत संरचना भत्काउन आफ्नो पूर्ण समर्थन रहेको बताएकी हुन् । 

सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङको प्रयोजन देखाई पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना) हटाउने कार्यलाई केही दिनदेखि काठमाडौँ महानगरपालिकाले निरन्तरता दिदैँ आएको सर्वविदित रहेको उल्लेख गर्दै उनले त्यस्ता अनधिकृत संरचना हटाउन आफ्नो पूर्ण  समर्थन रहेको उनले बताएकी छन् । 

‘अनधिकृत संरचना हटाउने काम महानगरपालिकाको हो । म काठमाडौँ महानगरपालिकाको उपमेयरको हैसियतमा छु । त्यसैले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु । काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने मेरो एजेण्डाप्रति म सजग र सचेत रहेको पनि स्मरण गराउन चाहन्छु,’ उनले सामाजिक सञ्जालमा भनेकी छन्, ‘तर, केही दिनदेखि मुख्य गरेर केही अनलाइन मिडियामा महानगरपालिकाको पछिल्लो अभियानसँग मलाई जोडी आममहानगरवासीमा  भ्रम सिर्जना गर्ने गरी गरेका समाचार सम्प्रेषणप्रति मेरो ध्यानाकर्षण भएको छ ।’