close

काठमाडौंँमा पानीपुरी र चटपटे बेच्न रोक लगाइने

काठमाडौंँमा पानीपुरी र चटपटे बेच्न रोक लगाइने

Trulli
ADVERTISEMENT

काठमाडौँ- काठमाडौं महानगरपालिकाले पानीपुरी र चटपटेलाई बेच्न रोक लगाउने भएको हो । हैजालगायतका रोगहरु छिट्टै सर्ने भएकोले महानगरपालिकाले वर्षायाममा पानीपुरी र चटपटेलाई बेच्न रोक लगाउन लागेको हो । 

महानगरपालिकाले केही निश्चित समयको लागि बेच्न रोक लगाउने निर्देशन दिएको हो । आवश्यक बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकम महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले पानीपुरी, चटपटेजस्ता उपभोक्ता खानेकुरामा उपभोक्ताहरु झुम्मिने र रोग चाडैँ सर्ने भएकोले बेच्न रोक लगाउन लागेको बताए ।
 
उनले भने, ‘खुल्ला दूध प्लाष्टिकमा हालेर रवरले बाँधेर बेच्ने काम मापदण्ड विपरीत हो । यसलाई तत्काल रोक लगाउनुपर्छ ।’

बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन बजारमा हुने व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल परिचालित हुने योजना बनाउनका निर्देशन दिएको महानगरका उपप्रमुख सुनिता डंगोलले बताइन् । 

उनले खुल्ला रुपमा वेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफुलको बजारमा निगरानी बढाउनु पर्ने बताइन् । ‘माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थबाट चाडैँ संक्रमण फैलिन्छ । यसको स्रोतहरु मासु पसल, दूध डेरी, तरकारी तथा फलफुल पसल हुन् ।’ उनले भनिन्, ‘अनुगमन गर्नु भनेको सचेत गराउने र सुधारको मौका दिने पनि हो । मौका दिँदा पनि सुधार नगर्नेलाई कानुनी र प्रशासनिक कारवाहीको दायरामा ल्याउनु पर्छ ।’


तरकारी बजारमा ल्याइने धेरै तरकारीमध्ये केही भाग बिग्रिएको हुन्छ । यो उपभोगका दृष्टिले पूर्ण अस्वस्थ्यकर हो । यस्तो तरकारी र फलफुल सस्तोमा किनेर ल्याएर सडक किनारामा भाग लगाएर बेच्ने काम जनस्वास्थ्यका दृष्टिले पनि जोखिमपूर्ण छ । बैठकमा वडाध्यक्ष एवं अनुगमन मूल्याङ्कन समितिका सदस्य राजेन्द्र मानन्धरले फाल्नु पर्ने तरकारी र फलफुल बेचबिखनमा तत्काल रोक लगाउनु पर्ने बताए । 

बैठकमा यस अघि जारको पानीमा गरिएको अनुगमनका विषयमा जानकारी गराउँदै कृषि तथा पशुपंक्षी विभागका प्रमुख डाक्टर अवधेश झाले भने, ‘कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने मापदण्ड छ । यस विपरीतका जार जफत र नष्ट गरिएको हो ।’ डा. झाका अनुसार काठमाडौँमा १५० भन्दा धेरै जारको पानीका वितरक छन् । यी हरेकको पानीको गुणस्तर जाँच नगरी स्वच्छताको अवस्था भन्न सकिने अवस्था छैन । 

व्यापारिक क्रियाकलापमा हुने निगरानीसँगै उपभोक्तालाई स्वच्छता र गुणस्तरका विषयमा सचेत गराउने काम पनि सँगै सञ्चालन गर्नुपर्ने बैठकले खाचाेँ देखाएको छ ।