close

पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम, मृगौला डाईलोसीसका लागि यातायात सेवा

पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम, मृगौला डाईलोसीसका लागि यातायात सेवा

Trulli
ADVERTISEMENT

विराटनगर महानगरपालिकाले नगर बस सञ्चालन गर्ने

मोरङको विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सिटी बस सञ्चालनमा ल्याउने भएको छ । महानगरको सडक र मोडमा कति यात्रु क्षमताका बस सञ्चालन गर्नु उपयुक्त्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षणसमेत गरिएको छ । 

महानगरले सिटी बस सञ्चालनका लागि कार्यपालिका बैठकबाट निर्णय गरिसकेको जनाएको छ । लगानी बोर्डको सौजन्यमा महानगरले सिटी बस सञ्चालन गर्न लागेको हो। 

पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम

पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ ।
महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताए।

पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक रु ५० हजार भाडामा लिएर १० रोपनी जग्गा नक्सा पास बिना गौशाला धर्मशालाका नाममा सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ । यसैगरी पशुपति क्षेत्रमा २० वटा भन्दा धेरै सटर बिना दर्ता सञ्चालन भइरहेको महानगरको निरीक्षणमा भेटिएको  छ । 

आरुघाटमा लोकनृत्य प्रतियोगिता हुने

गोरखाको आरुघाट गाउँपालिकाले लोकनृत्य प्रतियोगिता गर्ने भएको छ । गाउँपालिकाले ११३ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा लोकनृत्य प्रतियोगिता गर्न लागेको हो । 

गाउँपालिकाको अनुसार फागुन २४ गते प्रतियोगिता सञ्चालन हुने छ । प्रतियोगितामा सहभागी हुनका लागि इच्छुक व्यक्ति तथा समूहले फागुन २३ गतेभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । पालिकाभित्र रहेका महिला समूहलाई सो प्रतियोगितामा सहभागी हुन गाउँपालिकाले अनुरोध गरेको छ।

नारायणी पुल झिलीमिली

गत जेठमा हावाहुरीले सम्पूर्ण विद्युत पोल ढालेसँगै अन्धकार बनेको नारायणगढस्थित नारायणी पुल झिलीमिली बनेको छ ।  चितवनको भरतपुर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाले पुलमा पोल राखेर स्मार्ट बत्ती जडान गरेसँगै पुल क्षेत्र झिलीमिली बनेको हो । 

डिजिटल पद्धतिबाट पोलमा बत्ती बाल्न मिल्ने गरी जडान गरिएको छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले महानगरलाई उज्यालो सहर बनाउने अभियानअन्तर्गतको पहिलो कार्यक्रममा पारेर नदीको पुलमाथि १४ वटा पोलमा बत्ती जडान गरिएको बताइन्। 

कृषि प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै पाँचखाल

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले कृषि  प्रवर्द्धन  कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै चालू आर्थि वर्षको स्वीकृत कार्यक्रम अनुरुप कृषि  प्रवर्द्धन  कार्यक्रम सञ्चालन गर्न लागिएको जनाएको हो । 

आवश्यक कागजातसहित सूचना प्रकासित भएको पन्ध्र दिनभित्र सम्बन्धित वडा कार्यालय वा नगरपालिकामा आवेदन दिइ कार्यक्रममा सहभागी हुन सक्ने नगरपालिकाले जनाएको छ । 

शिवराजमा मृगौला डाईलोसीसका लागि यातायात सेवा सञ्चालन

कपिलवस्तुको शिवराज नगरपालिकामा मृगौला पीडितका लागि यातायात सेवा सञ्चलनमा ल्याएको छ । नगरप्रमुख अजय थापाले नगरपालिकाले मृगोला बिरामीको डाइलोसिस गर्नको लागि यातायाता सञ्चालनमा ल्याएको बताए ।

उनले चन्द्रौटा देखि बुढवल, भैरहवा जानका लागि चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार सो सेवा सञ्चालनमा ल्याएको जानकारी दिए। सेवा सञ्चालन गर्नको लागि नगरपालिकाले २ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। 

चैतमा न्यायिक समितिको राष्ट्रिय सम्मेलन हुने

आगामी चैत १५ र १६ मा काठमाडौँमा दुई दिने न्यायिक सम्मेलन हुने भएको छ । काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा हुन लागेको सम्मेलनमा सहभागी हुन काठमाडौँ महानगरपालिकाले देशभरका सात सय ५३ वटै स्थानीय तहलाई निमन्त्रणा गरेको छ । 

कामपाकी उपप्रमुख एवं न्यायिक समितिको संयोजक सुनिता डङ्गोलले स्थानीय तहमा न्याय सम्पादनको अनुभव आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताइन्। सम्मेलन न्यायिक समितिको अवधारणा, विभिन्न कानुनमा भएका न्यायिक समितिसम्बन्धी व्यवस्था, न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र यसको प्रचलनका विषयमा केन्द्रित हुनेछ । साथै स्थानीय विवाद समाधानमा मेलमिलाप प्रक्रिया र यसको प्रवर्द्धनसम्बन्धी विषय समेटिने जनाइएको छ।