close

सार्वजनिक स्थलमा राती फोहोर फाल्नेलाई जरिवाना, खोप लगाउन छुटेका बालबालिकाको खोजी (भिडियाेसहित)

सार्वजनिक स्थलमा राती फोहोर फाल्नेलाई जरिवाना, खोप लगाउन छुटेका बालबालिकाको खोजी (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

सार्वजनिक स्थलमा राती आएर फोहोर फाल्नेलाई जरिवाना

काठमाडौं महानगरपालिकाले रातको समयमा आएर सडकमा फोहोर फाल्नेलाई १५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

बुधबार राती वडा १४ को कुलेश्वर क्षेत्रमा बा ४ च ३३४ नम्बरको गाडीले बोरामा हालेको फोहोर फाल्दै गर्दा महानगरको रात्रीकालीन अनुगमन टोलीले पक्राउ गरेको थियो । जरिवाना तिराएर बिहिबार गाडीलाई फोहोरलाई जथाभावी नफाल्ने सर्त राखेर छोडिएको छ । महानगरले अनधिकृत फोहोर फाल्नेमाथि कडा निगरानी गरिरहेको जनाएको छ ।

गन्यापधुराका निर्माण कार्यको स्थलगत अनुगमन

डडलेधुराको गन्यापधुरा गाउँपालिकाले पालिका क्षेत्रमा भएको निर्माण कार्यको अनुगमन गरेको छ । गाउँपालिकाका कार्यबाहक अध्यक्ष चक्रबहादुर देउबासहितको टोलीले बिहिबार स्थलगत अनुगमन गरेको हो। 

गाउँपालिकाको बन्दै गरेको प्रशासकिय भवन, निर्माणाधिन विभिन्न विद्यालयका भवन, खानेपानी योजना, खेलकुद मैदानको स्थलगत अनुगमन गरिएको कार्यबाहक अध्यक्ष देउबाले बताए। पालिकामा भइरहेको निर्माण कार्यका जानकारी लिनको लागि समय समयमा अनुगमन गर्दै आएको उनले बताए ।

खोप लगाउन छुटेका बालबालिकाको खोजी

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाको घर–घरमा पुगेर खोजी गर्न थालिएको छ ।

वैशाखमा गर्ने भनिएको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकालाई  घर–घरमा पुगेर खोज्न थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिए। उपमहानगरपालिकाका २३ वडामा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको छ । 

काठमाडौं उपत्यका फोरमको अध्यक्षमा महर्जन निर्वाचित

उपत्यका मेयर्स फोरमको अध्यक्षमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन चयन भएका छन्। काठमाडौँ उपत्यकामा रहेका महानगरपालिका तथा नगरपालिकाका प्रमुख रहने उक्त फोरमको उपाध्यक्षमा वासुदेव थापा, महासचिवमा घनश्याम गिरी, सचिवमा प्रकाश अधिकारी, कोषाध्यक्षमा कृष्णहरि महर्जन र सहसचिवमा सुरेन्द्र श्रेष्ठ चयन भएका छन्। 

बिहीबार सम्पन्न फोरमको बैठकले नयाँ कार्यसमिति चयन गर्दै  उपत्यकामा प्रवेश गर्ने प्रमुख नागढुङ्गा नाकामा ‘अटोमेटिक भेहिकल डिटेक्सन एन्ड मनिटरिङ सिस्टम’ जडान गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । यसका लागि करिब रु दुई करोड लगानी आवश्यक पर्ने जनाइएको छ । 

खोपबाट वञ्चित बालबालिकाको खोजीमा नगरपालिका

बाग्लुङको ढोरपाटन नगरपालिकाले गाउँगाउँमा पुगेर पूर्ण खोप लगाउनबाट वञ्चित भएका र कुपोषित बालबालिकाको खोजी गरिरहेको छ । नगरपालिका स्वास्थ्य शाखाले अहिले गाउँमा गएर स्वास्थ्य आमासमूह गठन गर्ने र बालबालिकालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन थालेको छ । 

जनचेतनाको कमी तथा अशिक्षाका कारण बालबालिका कुपोषित हुने र पूर्ण खोप नलगाएको पाइएकाले नौवटै वडामा पुगेर खोप लगाउने तथा कुपोषित बच्चाको पहिचान थालिएको स्वास्थ्य शाखा प्रमुख केशव थापाले जानकारी दिए।

बुहारीलाई पढाउँदै वडा सरकार

मकवानपुरको थाहा नगरपालिकाको वडा नम्बर ४ ले बुहारीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । वडा कार्यालयले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप बुहारीको उच्च शिक्षाको लागि छात्रवृत्ति प्रदान गर्न लागेको हो । 

वडाध्यक्ष नारायण लामाका अनुसार वडाभित्र स्थायी रुपमा बस्दै आएका ५ जना बुहारीलाई छात्रवृत्ति प्रदान गर्न लागेको हो । उनले कक्षा १२ र स्नातक तह अध्ययन गर्न चाहने बुहारीलाई  छात्रवृत्ति प्रदान गर्न लागेको बताए । 

बाढी प्रभावितलाई जग्गा उपलब्ध गराइने

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले याङ्ग्री लार्के खोलामा २०७८ असार १ गते गएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराउने भएको छ । 

बाढीबाट प्रभावित याङ्ग्रीका दलित बस्तीका ११ परिवारका लागि स्थायी आवास निर्माण गर्न जग्गा खरिदको सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए। बाढीबाट प्रभावितका लागि आवास निर्माण गर्न प्रति परिवार रु पाँच लाख तथा जग्गा नहुनेलाई थप रु तीन लाख दिइने गाउँपलिकाले जनाएको छ।