close

दलित परिवारको स्वास्थ्य बीमा गर्दै औरही गाउँपालिका, अन्नपूर्णमा अनलाइन राजस्व भुक्तानी सेवा (भिडियाेसहित)

दलित परिवारको स्वास्थ्य बीमा गर्दै औरही गाउँपालिका, अन्नपूर्णमा अनलाइन राजस्व भुक्तानी सेवा (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

दलित परिवारको स्वास्थ्य बीमा गर्दै औरही गाउँपालिका

धनुषाको औरही गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सात वटै वडामा बसोबास गर्ने दलित परिवारको स्वास्थ्य बीमा गर्ने भएको छ । 

गाउँपालिकाका अध्यक्ष उमाशङ्करप्रसाद साहले गाउँपालिकामा रहेका दलित समुदायको स्वास्थ्यमा पहुँच स्थापित गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा स्वास्थ्य बीमा गर्न लागिएको जानकारी दिए। प्रारम्भिक तथ्याङ्कअनुसार सात वटा वडामा बस्ने करिब सात सय ३५ परिवारको स्वास्थ्य बीमा गरिने उनले बताए।

अन्नपूर्णमा अनलाइन राजस्व भुक्तानी सेवा

कास्कीको अन्नपूर्ण गाउँपालिकाले अनलाइनबाटै राजस्व भुक्तानीको सुरूआत गरेको छ । सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत पालिकाले अनलाइन भुक्तानी सेवा थालनी गरेको हो । 

सेवाग्राहीले अब गाउँपालिकाको करदाता ‘पोर्टल’ खोलेर आफ्नो विवरण एवं करको अभिलेख हेर्न र भुक्तानी गर्न सक्ने छन् । हाल कनेक्ट आइपिएस र ई–सेवासँग सम्झौता गरेर राजस्व भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत इञ्जीनियर सूर्य तिमिल्सिनाले जानकारी दिए। 

पर्यटन सम्मेलनमा भाग लिन उपप्रमुख डंगोल चीन प्रस्थान

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल छाङ्सा फ्राग्रान्ट टुरिजम समिटमा भाग लिन सोमबार चीन प्रस्थान गरेकी छिन्। 

सम्मेलनका लागि वर्ल्ड टुरिजम सिटीज फेडेसेसन (डब्लुटीसीएफ)को निमन्त्रणा अनुसार ४ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी सिचुवान एअरलाइन्सबाट प्रस्थान गरेकी हुन्। महानगरको उपप्रमुखको कार्यभार सम्हालेपछि डंगोलको यो पहिलो अन्तरराष्ट्रिय भ्रमण हो ।  सम्मेलन मंगलबारदेखि शुक्रबारसम्म चल्नेछ । 

अनलाइन फारम विदुरले निः शुल्क भरिदिने

जिल्ला प्रशासन कार्यालय नुवाकोटमार्फत राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन फारम विदुर नगरपालिकाले निःशुल्क भरिदिने भएको छ ।

आगामी जेठ १ गतेदेखि विदुर नगरपालिकाले जिल्ला प्रशासन कार्यालयको परिसरमा रहेको विदुर नगरपालिकामार्फत सञ्चालित आप्रवासी स्रोत केन्द्र (सामी)को सहायता कक्षबाट निःशुल्क फाराम भर्न कर्मचारी खटाउने भएको छ। नगरप्रमुख राजन श्रेष्ठका अनुसार यसका लागि नगरपालिकाले दुई कर्मचारीसहित आवश्यक उपकरणको व्यवस्था मिलाउने भएको छ ।

महिलालाई पृथ्वीनारायण शाहको मूर्ति बनाउन तालिम

गोरखाको गोरखा नगरपालिकामा पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम सुरु भएको छ । नगरप्रमुख कृष्णबहादुर रानामगरले पृथ्वीनारायण शाहको मूर्ति बनाउनेसम्बन्धी एकमहिने एड्भान्स तालिम सञ्चालन भइरहेको जानकारी दिए। 

तालिममा १५ महिलाको सहभागिता रहेको छ। यसअघि एकमहिने आधारभूत तालिममा सहभागी भएकाहरू दोस्रोपटकको एड्भान्स तालिममा सहभागी भएको उनले बताए। आन्तरिक तथा बाह्य पर्यटकका लागि गोरखामै उत्पादित गोरखाको पहिचान र चिनारी झल्कने चिनो लैजाने अवसर प्रदान गर्नका लागि नगरपालिकाले उक्त तालिम सञ्चालन गरेको जनाएको छ।

प्रधानाध्यापकहरूसँग पोखरा महानगरपालिकाको कार्यसम्पादन सम्झौता 

कास्कीको पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयमा शिक्षा सुधारका लागि प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौता गरेको छ । विद्यालयको प्रशासनिक नेतृत्वलाई जवाफदेही बनाई विद्यालयको सुधार, विकास र उन्नयन गर्ने उद्देश्यले महानगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग सम्झौता गरेको हो।

सङ्घीय शिक्षा नीति र विद्यालय क्षेत्र विकास योजनासमेतको मर्मलाई आत्मसात गरी महानगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग २८ बुँदामा सम्झौता गरिएको छ । सम्झौताअनुसार आधारभूत तहमा विद्यार्थीको भर्ना र टिकाउ दरमा वृद्धि, शैक्षिकसत्रभर दुई सय २० दिन विद्यालय सञ्चालनसहित कम्तीमा एक सय ९२ दिन पठनपाठनको सुनिश्चितता, विद्यालयमा शिक्षक पदपूर्ति रिक्त भएको कम्तीमा ३० दिनभित्र गरिसक्नु पर्नेछ ।

महिला स्वास्थ्य स्वयम्सेविकाको क्षमता अभिबृद्धि गर्दै तारकेश्वर

काठमाडौंको तारकेश्वर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको लागि वृहतपोषण प्याकेज क्षमता अभिवृद्वि कार्यक्रम सञ्चालन गरेको छ । 

चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि स्वयमसेविकाका क्षमता अभिवृद्धि गरेको हो । नगर उपप्रमुख सृजना बुर्लाकोटिले नगरबाट आगामि दिनमा यस्ता कार्यक्रमका माध्यमबाट समाजमा स्वयंसेविकाकको भुमिकालाई अझै सक्रिय ढङ्गबाट प्रस्तुत गर्न सकिने बताएकी छिन् ।