close

मगर भाषा पढाउँदै निसीखोला, सीप विकास तालिम सञ्चालन गर्दै माई नगरपालिका

मगर भाषा पढाउँदै निसीखोला, सीप विकास तालिम सञ्चालन गर्दै माई नगरपालिका

Trulli
ADVERTISEMENT

मगर भाषा पढाउँदै निसीखोला गाउँपालिका

बागलुङको निसीखोला गाउँपालिकाले यही शैक्षिकसत्रबाट लागू गर्ने गरि मगर भाषामा पाठ्यपुस्तक तयार गरेको छ । स्थानीय पाठ्यक्रम निर्माण निर्देशिकाअन्तर्गत रहेर निसीखोला गाउँपालिकाले कक्षा १ मा मगर भाषा समेटिएको पाठ्यपुस्तक पढाउने तयारी थालेको हो । 

जनजातिहरूको बाहुल्यता रहेको निसीखोला गाउँपालिकाले मगर भाषा समेटिएको पाठ्यपुस्तक छपाइको तयारीमा रहेको जनाएको छ । आदिमकालदेखि बोलीचालीमा प्रयोग गर्दै आएको भाषा, संस्कृतिको जगेर्ना गर्नका लागि गाउँपालिकाले विद्यार्थीलाई मगर भाषा सिकाउन थालिएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले जानकारी दिए। 

सीप विकास तालिम सञ्चालन गर्दै माई नगरपालिका

इलामको माई नगरपालिकाले सीप विकास तालिम सञ्चालन गर्ने भएको छ। मंगलबार एक सुचना जारी गर्दै नगरपालिकाले २०–२० जना महिलालाई सिलाई कटाई तालिम र ब्युटी पार्लर तालिम प्रदान गर्न लागेको जनाएको छ। 

तालिम लिन इच्छुक व्यक्तिले नगरपालिकाको उद्यम विकास शाखामा नागरिकताको प्रतिलिपिसहित सातदिन भित्र निवेदन पेश गर्न नगरपालिकाले अनुरोध गरेको छ। 

बाली विज्ञान पढ्ने विद्यार्थीलाई गाउँपालिकाको अनुदान

पर्वतको जलजला गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि अनुदान दिने भएको छ । गाउँपालिकाको मङ्गलबारको बैठकले जलजला गाउँपालिकाभित्रका सामुदायिक विद्यालयको कक्षा ९ मा बाली विज्ञान पढ्ने विद्यार्थीलाई अनुदान दिने निर्णय गरेको हो। 

ग्रामप्रकाश मावि जलजला–५ लेकफाँटमा प्राविधिक धारतर्फ ९बाली विज्ञान० विषयमा अध्ययन गर्ने विद्यार्थीलाई बार्षिक रु ३६ हजार सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए।

पालिकाको लोगो बनाउँदै दुहुँ सरकार

दार्चुलाको दुहुँ गाउँपालिकाले पालिकाको लोगो बनाउने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै निशाना छापसँगै पालिकाको छाप प्रयोग गर्ने प्रयोजनका लागि लोगो निर्माण गर्न लागिएको जनाएको छ। 

यसका लागि इच्छुक व्यक्ति तथा कम्पनीले गाउँपालिकाको ऐतिहासिक, सामाजिक, धार्मिकलगायत झल्कने गरी लोगो निर्माण गर्न सक्नेछन्। गाउँपालिकाको इमेल ठेगानामा लोगो पठाउन सकिने छ। 

पेश भएका लोगो मध्य उत्कृष्ट लोगो छनौट गरि पालिकाको प्रयोगमा ल्याउने गाउँपालिकाले जनाएको छ। सुचनाअनुसार उत्कृष्ट लोगोलाई ३० हजार नगदसहित गाउँपालिकाले पुरस्कृत गर्नेछ।

अनुदानमा फलफूलको बिउ वितरण गर्दै खनियाबास

धादिङको खनियाबास गाउँपालिकाले अनुदानमा फलफूलको बिउ वितरण गर्ने भएको छ। बुधबार एक सुचना जारी गर्दै गाउँपालिकाले चालु आर्थिक वर्षको  वार्षिक स्विकृत कार्यक्रम अनुसार वर्षे फलफुलको बिउ वितरण गर्न लागेको जनाएको छ। 

गाउँपालिकाले कागती, सुन्तला, केराको बिउ ७० प्रतिशत अनुदानमा  वितरण गर्न लागेको हो। सुचना प्रकासित भएको सात दिनभित्र आवश्यक कागजातसहित कृषि शाखामा बिरुवाको माग पेश गर्न पालिकाका कृषकलाई गाउँपालिकाले अनुरोध गरेको छ।  

गल्छी गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण

धादिङको गल्छी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण सुरु गरेको छ ।  कृषिलाई आधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्र विकास गर्न पालिकाले  अनुदानमा कृषियन्त्र वितरण गरेको हो। 

गाउँपालिकाले एक सय ४५ ओटा मिनीटिलर वितरण गरेको पालिकाका कृषि प्राविधिक टीकाराम खतिवडाले जानकारी दिए।

अभिभावकविहीनको शैक्षिक निरन्तरताका लागि कक्षा वृद्धि

तनहुँको व्यास नगरपालिकाले आन्तरिक आयबाट सञ्चालन गरिरहेको व्यास नगर समता विद्यालयको कक्षा वृद्धि गर्ने भएको छ । हाल कक्षा ५ सम्ममात्र पढाइहुने उक्त विद्यालयमा कक्षा १० सम्म पठनपाठन गर्ने वातावरण बनाउन लागिएको हो। 

अभिभावकविहीन बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउने उद्देश्यले सञ्चालन गरिएको उक्त विद्यालयमा अध्ययनरत बालबालिकाको कक्षा वृद्धि गर्दै लैजाने भएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए। उनको अनुसार बालबालिका अन्यत्र गएर पठनपाठन गर्ने अवस्था नहुँदा पढाइबाट बञ्चित हुनुपर्ने अवस्थालाई मध्यनजर गरी कक्षा बढाउँदै लैजाने निर्णय गरिएको हो।