close

बागलुङका स्थानीय तहमा कानुनी साक्षरता अभियान 

बागलुङका स्थानीय तहमा कानुनी साक्षरता अभियान 

Trulli
ADVERTISEMENT

बागलुङ– उच्च अदालत बार एशोसिएशन बागलुङले दशवटै पालिकामा कानुनी साक्षरता अभियान थालेको छ ।  कानुनका जान्नैपर्ने आधारभूत कुरा बुझाएर जनतालाई सूचित बनाउन यो अभियान थालिएको बारका सचिव रमेशबहादुर खड्काले बताए । ‘कुन विषय र मुद्दामा कस्तो कानुन आर्कषण हुन्छ भनेर ग्रामीण क्षेत्रका बासिन्दालाई जानकारी भयो भने अपराध न्यूणीकरणमा सहयोग पुग्छ ।  काम विशेषले आएकाको खर्च पनि जोगिन्छ’, उनले भने, ‘यो विषय जनतालाई बुझाउनैपर्ने भएको छ ।’ लामो समयदेखि बारले यस्ता गतिविधि गरेको थिएन । 

 

यो अभियानमार्फत बारले सबै पालिकाको न्यायिक समितिलाई समेत जागरुक बनाउन खोजेको अध्यक्ष अखिलनाथ शर्माले बताए । ‘आफ्नै कार्यक्षेत्रबारे न्यायिक समितिका पदाधिकारी अन्योलमा छन् ।  अव हामीले सल्लाह दिन खोजेका हौं,’ उनले भने, ‘न्याय निरुपणका लागि अल्मलिएका जनप्रतिनिधिलाई पनि सहज हुनेछ ।’ 

 

स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्ष नेतृत्वमा न्यायिक समिति छ । उक्त समितिलाई न्याय निरुपणको अधिकार छ । तर पछिल्लो समय अधिकांश समितिले काम गर्न सकेका छैनन् । जनतालाई पनि न्यायिक विश्वास नभएर प्रहरीदेखि अदालतसम्म पुग्ने गरेका छन् । बारले ज्यानसम्बन्धी, करणी, विवाह, अपहरण, शरीरबन्धक, बोक्सीको आरोप, छुवाछुत र भेद्भावसम्बन्धी कानूनी साक्षरता दिन थालेको हो ।

 

बारले ताराखोला गाउँपालिकामा ८० जनालाई साक्षरता दिइसकेको खड्काले जानकारी दिए । अंश, सम्बन्धविच्छेद, अपुताली, दानबकस, लिखत पारित र कार्यविधिसम्बन्धी धेरै विषयमा साक्षरता अभियान चलाउन बारले पाठ्यक्रमसमेत बनाएको हो । व्यक्तिगत घटना दर्तादेखि स्थानीय तहको काम कर्तव्य र अधिकार विषयमा पनि पाठ्यक्रम बनाएर विभिन्न कार्यक्रम गर्ने बारले निर्णय गरेको खड्काले जानकारी दिए।

 

स्थानीय तह गठनपछि बारले कुनैपनि कार्यक्रम गरेको थिएन । कार्यक्रम नगर्दा जनप्रतिनिधि पनि अन्योलमा परेको र जनतामा सचेतना अभियान जान सकेको थिएन । अझै २०७४ सालदेखि लागूभएको नयाँ मुलुकी देवानीसंहिताको व्यवस्थाबारे सर्वसाधारण र जनप्रतिनिधि समेत अन्योलमा थिए । ‘हामीले थाहै नपाएका धेरै विषय जान्ने अवसर मिलेको छ,’ ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले भने, ‘यस्ता विषय जनप्रतिनिधि र सामाजिक अगुवामा मात्र सीमित नगरी वडा तहमा पर्‍याउनुपर्छ ।’

 

बारले दशवटै पालिकामा यो अभियान लैजाने र आवश्यकता अनुसार अन्य समुदायमा पनि जाने तयारी गरेको हो । बारले मानवअधिकारलगायतका क्षेत्रमा पनि आफ्ना क्रियाकलाप गर्ने गरी समिति गठन गरेको छ । विभिन्न ११ वटा विषयगत समिति बनाएर बारले आम नागरिकमा कानूनी विषय र अदालती प्रक्रियालाई सहजै बुझ्ने बनाउन लागेको हो । यस अघिको कार्यकालमा बारमा विवाद बढ्दा आन्तरिक किचलोसँगै जनतामा समेत साक्षरता पुग्न सकेको थिएन ।