close

मनरा शिसवा नगरपालिकामा मदिरा प्रतिबन्ध

मनरा शिसवा नगरपालिकामा मदिरा प्रतिबन्ध

Trulli
ADVERTISEMENT

महोत्तरी। मनरा शिसवा नगरपालिकाले नगरक्षेत्रमा मदिरा प्रतिबन्ध लगाएको छ । नगरभित्र मदिरा उत्पादन, सङ्कलन, भण्डारण तथा बिक्री वितरणमा रोक लगाइएको हो । 

मनरा शिसवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीका अनुसार पालिकाका भारतीय सीमासँग जोडिएका वडा नं २, ३, ५, ८, ९ र १० को सम्पूर्ण क्षेत्रमा पूर्णरुपमा मदिरा उत्पादन, सङ्कलन, भण्डारण तथा बिक्री वितरणमा रोक लगाइएको छ । उनका अनुसार वडा नं १, ४, ६ र ७ मा भने सार्वजनिक तथा सरकारी कार्यालय, शैक्षिक र स्वास्थ्य संस्था एवं मठ मन्दिरदेखि तीन सय मिटर क्षेत्रमा मदिरा रोक लगाइएको हो । 

नगरपालिकाले मदिरा प्रतिबन्ध लगाउनु अघि गत पुस ३० मा दशौँ नगरसभाबाट मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी ऐन, २०७९ पारित गरेको थियो । सोही ऐनको दफा ५ को उपदफा ६ बमोजिम नगरक्षेत्रभित्र तोकिएका छ वटा वडामा पूर्णरुपमा मन्दिरा बन्देज गरिएको हो भने चार वटा वडाको निर्धारित सीमाभन्दा बाहिर मात्रै मदिरा उत्पादन तथा बिक्री वितरण गर्न पाइनेछ । सामाजिक सदभाव, सु–स्वास्थ्य, आर्थिक हित तथा सम्भावित आपराधिक घटनालाई नियन्त्रण गर्ने उद्देश्यले मदिरा प्रतिबन्ध गरिएको नगरपालिकाको भनाइ छ । 

नगरपालिकाले जारी गरेको मदिरा सम्बन्धी ऐनमा उल्लेखित मापदण्ड अपनाउन मदिरा व्यवसायीलाई माघ ९ देखि १५ दिनको अल्टिमेटम दिएको छ । नियम विपरीत काम गर्नेलाई ऐनको दफा ११, १२ र १३ बमोजिम कानूनी कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत चौधरीले जानकारी दिए।