close

साकेलाले ल्यायाे ३३ कराेड ८८ लाख बजेट, बसाई सरी आउनेलाई ५००० पुरस्कार

साकेलाले ल्यायाे ३३ कराेड ८८ लाख बजेट, बसाई सरी आउनेलाई ५००० पुरस्कार

Trulli
ADVERTISEMENT

खोटाङ । साकेला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेट पेश गरेको छ । ‘सुसंस्कृत, संस्थागत र समृद्ध साकेला’ भन्ने मूल नाराका साथ आईतबार गाउँपालिकास्थित सभाहलमा सम्पन्न १३औं गाउँसभाले बजेट पेश गरेका हुन् । 

आवधिक योजनामा समेटिएका गौरवका योजनाहरुलाई प्राथमिकता दिँदै आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको जनाइएको छ। गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको अध्यक्षतामा सम्पन्न गाउँसभामा कूल ३३ करोड ८८ लाख ८१ हजार अनुमानित बजेट प्रस्तुत गरिएको छ । आगामी आर्थिक वर्षको लागि गाउँपालिकालाई वित्तिय समानिकरण अनुदान अन्तर्गत ७ करोड ११ लाख, राजश्व बाँडफाँडबाट ६ करोड ७९ हजार रुपैंया रकम प्राप्त हुने अनुमान गरिएको छ भने सशर्त अनुदान अन्तर्गत १६ करोड ४१ लाख तथा विशेष अनुदान अन्तर्गत १ करोड ५० लाख रुपैंया प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदान ४० लाख ९४ हजार, सवारी करबाट २७ लाख ५३ हजार, प्रदेश सशर्त अनुदान तर्फ २९ लाख २५ हजार र पूँजीगत तर्फ ३८ लाख ३० हजार रुपैंया रकम प्राप्त हुने अनुमान गरिएको हो । गाउँपालिकालाई संघको समपुरक अनुदान १ करोड ३५ लाख रुपैंया प्राप्त भएको छ भने गाउँपालिकाको आन्तरिक आम्दानी १५ लाख रुपैंया प्रक्षेपण गरिएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० मा ३७ करोड ७४ लाख ७५ हजार रकम विनियोजन गरेकोमा असार ८ गतेसम्म २६ करोड ४७ लाख १८ हजार रुपैया अर्थात कूल बजेटको ६२ दशमलव ४५ प्रतिशत मात्र खर्च गरेको प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नीति, कार्यक्रम तथा बजेट गाउँसभामा उपाध्यक्ष बिर्सिका प्रस्तुत गरेका हुन् । प्रस्तुत नीति, कार्यक्रम तथा बजेटलाई गाउँसभाले बहुमतले पारित गरेको छ । त्यस्तै उपाध्यक्ष राईले विनियोजन विधेयक, २०८० र आर्थिक ऐन, २०८० लाई समेत सभामा पेश गर्नुभएकोमा दुवै विषयलाई सभाबाट बहुमतले पारित गरेको छ ।

सभाध्यक्ष रवि प्रकाश राईले १२औं गाउँसभादेखि १३औ‌ गाउँसभासम्म आईपुग्दा समग्र साकेलाको विकास प्रकृयामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनुहुने, सल्लाह सुझाव प्रदान गर्नुहुने राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, बुद्धिजीवी, पत्रकार, नागरिक समाज र समग्र साकेलावासीलाई धन्यवाद ज्ञापन गरे ।

उनले साकेलाको गौरवको योजनाहरुलाई पुरा गर्न संघ तथा प्रदेश सरकारसँग निरन्तर समन्वय गरिने बताउँदै तावाभञ्ज्याङ क्षेत्रमा वृहत्त पर्यटन पूर्वाधार विकास अन्तर्गत हाल तावाताल निर्माणको मात्र विस्तृत परियोजना तयार भईसकेकाले यसलाई अध्ययन गरि आवश्यकता अनुसार परिमार्जन गरि कार्य अघि बढाईने बताए । त्यस्तै, मपारुङ, धन्नेश्वरी गुफा, साकेला पार्क, लामदुवाली, तावादोभानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने समेत उल्लेख गरे ।

साकेलाको वृहत पर्यटकीय क्षेत्रको विकास गरी आगामी चार वर्षभित्र नमूना पालिका निर्माण गर्न आवधिक योजना मार्फत समेटिएका पूर्वाधारहरुमध्ये पालिकाको सिमानामा साकेला ट्रेल र साँस्कृतिक भिलेज निर्माण तथा पालिकालाई डिजिटल पालिका निर्माण गर्ने कार्यलाई प्राथमिकता दिईने अध्यक्ष राईले बताए ।

बसाईसरी आउने परिवारलाई पाँच हजार
 साकेला गाउँपालिकाले बसाइ सरेर आउने परिवारलाई सम्मान स्वरुप पाँच हजार रकम उपलब्ध गराउने नीति ल्याएकाे छ । गाउँपालिकाले जनसङ्ख्यालाई सन्तुलनमा राख्नका लागि अन्यत्रबाट बसाईसरी आउने परिवारलाई सम्मान स्वरुप पाँच हजार रकम उपलब्ध गराउने नीति अघि सारेको हो । बसाईसराईलाई न्यूनीकरण गर्नका लागि आधुनिक उपकरण सहितको स्वास्थ्य सेवा, रोजगारी, गुणस्तरीय शिक्षा, सडक सुविधा लगायतको कार्यलाई प्राथमिकता दिएर काम अघि बढाउने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।