close

स्थानीय सेवा (कर्मचारी) गठन सम्बन्धी ऐन पारित

स्थानीय सेवा (कर्मचारी) गठन सम्बन्धी ऐन पारित

Trulli
ADVERTISEMENT

 भक्तपुर । भक्तपुर नगरपालिकाले स्थानीय सेवा (कर्मचारी) गठन, सञ्चालन र व्यवस्थापन, सेवा, शर्त तथा सुविधा सम्बन्धमा बनेको विधेयक २०८० पारित गरेको छ । शुक्रबार नगरप्रमुख सुनील प्रजापतिको अध्यक्षतामा १४ औं नगरसभाको बैठकले सो विद्येयक सर्वसम्मत पारित गरेको हो । 

 उनले नगरपालिकालाई दीर्घकालीन सोचका साथ अगाडि बढाउने प्रयास भइरहेको बताउँदै  कर्मचारीहरुलाई व्यक्तिगतको फाइदाको लागि नभई जनताको सेवाको भावनाले संस्थाको आवश्यकताअनुसार संस्थाको हितमा काम गर्न प्रेरित गरे ।

  विधेयकमाथि भएको छलफलमा सभासद् रामसुन्दर बासीले अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुको लागि पनि छुट्टै ऐन ल्याउनुपर्ने, अस्थायी, ज्यालादारी र करारका कर्मचारीहरुले पनि मृत्यु संस्कार र सुत्केरी बिदा पाउनुपर्ने धारणा राखे ।
 
त्यस्तै सभासद् हेरा ख्याजुले कर्मचारीहरुको पद मिलान गर्नुपर्ने, कर्मचारीहरुको क्षमता र दक्षता अभिवृद्धिका लागि सेवाकालीन अध्ययनको व्यवस्था मिलाउनुपर्ने बताइन् ।

 सभासद् नारायणप्रसाद त्वानाबासुले प्रदेश कानुनसँग नबाँझिने गरी स्तर वृद्धिको व्यवस्था गर्नुपर्ने र कर्मचारीहरुको लागि अध्ययन बिदाको व्यवस्था हुनुपर्ने विचार राखे।
 
 उक्त सभामा भक्तपुर नपा वडा नंम्बर ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाको चौधौं नगरसभाको संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै, असार ६ गतेबाट सुरु भएको नगरपालिकाको चौधौं नगरसभा  शुक्रबार सम्पन्न भएको छ।