close

'बजेट ल्याउन नसकेका पालिकावासिले राजस्व तिर्नुपर्दैन'

बजेट ल्याउन नसकेपनि गाउँपालिकाले राजस्व संकलन गर्दै आएका छन् । नयाँ आर्थिक ऐन पारित भएपछि मात्रै स्थानीय तहले कानुनी रुपमा राजस्व संकलन गर्न पाउँछन् । ऐन नल्याई राजस्व संकलन गरेमा सम्बन्धित सेवाग्राहीले अदालतमा उजुरी दिन सक्ने व्यवस्था समेत छ ।

'बजेट ल्याउन नसकेका पालिकावासिले राजस्व तिर्नुपर्दैन'

बजेट ल्याउन नसकेपनि गाउँपालिकाले राजस्व संकलन गर्दै आएका छन् । नयाँ आर्थिक ऐन पारित भएपछि मात्रै स्थानीय तहले कानुनी रुपमा राजस्व संकलन गर्न पाउँछन् । ऐन नल्याई राजस्व संकलन गरेमा सम्बन्धित सेवाग्राहीले अदालतमा उजुरी दिन सक्ने व्यवस्था समेत छ ।

Trulli
ADVERTISEMENT

काठमाडौं– साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष २०८०/०८१ सुरु भइसकेको छ । नयाँ आव सुरु भएसँगै स्थानीय तहले फरक ढंगबाट राजस्व संकलन तथा सिफारिसको कार्य गर्न थालेका छन् । 

सरकारले नयाँ आव सुरु गर्नुपूर्व स्थानीय तहलाई असार १० गतेभित्र आव २०८०/०८१ का लागि बजेट पेश गर्न र  असार मसान्तभित्र बजेट पारित गर्न ताकेता गरेको थियो । नयाँ आव हिजोदेखि सुुरु भइसक्दा पनि मुलुकभरका २२ वटा गाउँपालिकाले अझै बजेट ल्याउन सकेका छैनन् । तरपनि यी गाउँपालिकाले साउन १ गतेदेखि राजस्व संकलन गर्न थालेका छन् । 

बजेट ल्याउन नसकेका गाउँपालिकाले साउन १ गतेदेखि राजस्व संकलन गर्न पाउँछन् त? स्थानीय बासिन्दालाई विभिन्न सिफारिस दिन सक्छन् त ? अर्थात्, बजेट ल्याउन नसकेका गाउँपालिकाले आर्थिक कारोबार गर्न पाउँलान् त ? 

यिनै प्रश्नको जवाफमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले असार मसान्तसम्म बजेट तथा आर्थिक ऐन पारित गर्न नसकेका स्थानीय तहमा आर्थिक काराेबार ठप्प हुने पालिका खबरलाई बताए । उनले साे गाउँपालिकाले राजस्व संकलनका साथै ठेक्का समेत दिन नपाउने बताउँछन् । उनले निर्धारित समयभित्र बजेट ल्याउन नसकेका गाउँपालिकामा आर्थिक ‘होलिडे’ लागू हुने बताए । 

उनी अघिल्लो वर्षको आर्थिक ऐन असार मसान्तसम्म मात्रै कार्यान्वयनमा रहने र साउन महिनादेखि नयाँ आवबाट लागू हुने सुनाउँछन् । यदि आर्थिक ऐन तथा बजेट ल्याउन नसकेमा गाउँपालिकाको आर्थिक कारोबार साउन महिनादेखि पूर्ण रुपमा ठप्प हुने उनी बताउँछन् ।

‘सायद साउन १ गतेदेखि नै यी गाउँपालिकाले राजस्व संकलन गर्न थालेका होलान् । यस्तो गर्न पाइदैँन,’ उनले भने, ‘यस्तो गरेको पाइएमा सम्बन्धित सेवाग्राहीले अदालतमा उजुरी दिन पाउँछन् र अदालतले सो कार्य रोक्न गाउँपालिकालाई आदेश दिन सक्छ ।’   

उनका अनुसार बजेट पारित नभएको अवस्थामा गाउँपालिकाले सञ्चय कोषसमेत चलाउन पाउँदैनन् । सो अवधिमा प्रदेश सरकारका लागि पेश्की बजेटको व्यवस्था भएपनि स्थानीय तहमा लागू नहुने उनले पालिकाखबरलाई बताए । 

उनी थप्छन्, ‘जबसम्म गाउँपालिकाले बजेट पारित गर्दैनन्, तबसम्मको राजस्व संकलन गर्ने अधिकार हुँदैन। स्थानीयले सो समयावधिको कर तिर्न आवश्यक हुन्न ।’ आर्थिक ऐन पास भएपछि कानुन बमोजिम मात्रै कर लगाउन पाइने उनले बताए । ‘कानुन भूतप्रवाही हुदैँन । जब कानुन पारित हुन्छ । तबदेखि मात्रै लागू हुन्छ,’ उनले भने, ‘त्यसैले गाउँपालिकाले आर्थिक ऐन ल्याएपछि मात्रै राजस्व संकलन गर्न पाउँछन् ।’

उनले बजेट ल्याउन नसकेसम्म स्थानीय तहकाे तलब भत्तासमेत राेक्न सकिने बताए । दुई वर्ष अघिसम्म स्थानीय तहले बजेट पास नगरेपनि सञ्चय कोष चलाउन पाएको अनुभव उनी सुनाउँछन् । ‘पछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समन्वय गरेर तलब भत्ता र सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालियो । त्यसपछि सबै व्यवस्था विद्यमान कानुन विपरित भए,’ उनले भने । 

 असार मसान्तसम्म बजेट ल्याउन नसक्ने स्थानीय तहले असोज मसान्तसम्म गाउँसभा वा नगरसभा गरेमा सोबीचको अवधिमा राजस्व संकलन गर्न पाउँछ या पाउँदैन भन्ने अन्यौलता कायम रहेको उनले बताए । सो विषयमा कानुनविद्हरुसँग छलफल गर्नुपर्ने उनको धारणा छ । 

बजेट ल्याउन नसकेका स्थानीय तहद्वारा संकलित रकम बेरुजुमा राख्ने व्यवस्था नभएको उनले बताए । ‘हामी नयाँ अभ्यासमा छौँ । त्यसैले कानुनले पनि स्थानीय तहलाई केही छुट दिएको हुन सक्छ,’ उनले थपे, ‘संविधानको व्यवस्था अनुसार जसरी संघ र प्रदेश सरकारले बजेट पारित नगरेमा कारोबार रोकिन्छ । स्थानीय तहमा पनि सोही प्रक्रिया लागू हुनुपर्ने हो ।’ तर, स्थानीय तहमा सो व्यवस्था लागू नभएको उनी बताउँछन् ।

 कोशी प्रदेशले अध्यादेशबाट बजेट पारित गरेर साउन १ गतेदेखि नयाँ आव लागू गरेको उनले बताए । तर, अरु प्रदेश सरकारमा सो व्यवस्था नभएकाले अनिवार्य रुपमा बजेट पारित गर्नुपर्ने उनले सुनाए ।