close

अब मदिरा सेवन गर्न लाईसेन्स अनिवार्य

अब मदिरा सेवन गर्न लाईसेन्स अनिवार्य

Trulli
ADVERTISEMENT

जुम्ला- के तपाईलाई थाहा छ ? मदिरा सेवन गर्न लाईसेन्स चाहिन्छ  भनेर । यदि छैन भने अब थाहा पाउनुहोस् । गुठिचौर गाउँपालिकामा मदिरा सेवन गर्नेलाई लाईसेन्स अनिवार्य गरेको छ । 

गाउँपालिकाले आगामी भाद्र १ गतेदेखि लागू हुने गरी लाईसेन्स अनिवार्य गरेको हो । गाउँपालिकाका प्रवक्ता अर्जुन कुमार महताराका अनुसार गाउँपालिकालाई 'मदिरा निषेधित पालिका' घोषणा गर्नको लागि लाइसेन्स अनिवार्य गरेको हो । 

उनले सोलाई कार्यान्वयनमा ल्याउनका लागि मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि  जारी गरेको बताए । सो कार्यविधिलाई आधारमा मानेर लाईसेन्स अनिवार्य गरेको उनले बताए । 

उनले सो कार्यविधि अनुसार पालिकाभित्र मदिरा उत्पादन गर्ने, वितरण गर्ने, सेवन गर्ने तथा ओसार पसार गर्ने सबै व्यक्तिले अनिवार्य रुपमा लाईसेन्स लिनु पर्ने छ । लाइसेन्स नलिई सो कार्य गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने उनले पालिकाखबरलाई बताए । 

मदिरा सेवनले पालिका क्षेत्रमा धेरै विकृती फैलिएको छ । शान्ति सुरक्षामा समेत असर परेको छ, उनले भने, सो नियन्त्रणका लागि पालिकाले सो निर्णय गरेको हो । 

उनले लाईसेन्स बनाउनका लागि नेपाल सरकारको प्रचलित कानुन बमोजिमको प्रक्रिया लागू हुने बताए । 'गाउँपालिकामा ५०० रुपैयाँ दस्तुर तिरी आवेदन दिएर लाइसेन्स दिन सकिने छ,' उनले भने, 'थोरै मदिरा सेवन गर्ने तथा घरमै सेवन गर्नेलाई सो लागू हुँदैन ।'

उनका अनुसार एक व्यक्तिले एक दिनमा बियर अधिकतम एक बोतल र हार्डड्रिंक्स १ सय ८० मिलिलिटर मात्र सेवन गरेमा सो लागू हुँदैन । सोभन्दा बढी पिउनु परेमा मात्रै लाईसेन्स अनिवार्य रहेको उनले बताए । 

उनले पालिकाभन्दा बाहिरका लागि  एक सय रुपैयाँमा अतिथि मदिरा कार्ड उपलब्ध गराइने बताए ।