close

३० महिना वितिसक्दा पनि निर्देशिका कार्यान्वयन भएन

३० महिना वितिसक्दा पनि निर्देशिका कार्यान्वयन भएन

Trulli
ADVERTISEMENT

दोलखा- जिरी नगरपालिकामा म्याद गुज्रेको खाद्य सामाग्रीहरू बजारमा सहजै बिक्रीवितरण भइरहेको गुनासो बढेको छ । बजार अनुगमनसम्बन्धी निर्देशिका बनेको करिब ३० महिना वितिसक्दा पनि कार्यान्वयनमा ल्याउन नसक्दा नगरपालिकामा खाद्यवस्तुसम्बन्धी गुनासाे बढेकाे हो । 

गुनासोकै कारण नगरपालिकाले बजार अनुगमनको तयारी गरेको छ । अनुगमन कार्यान्वयनमा आएमा ३० महिनापछि बल्ल निर्देशिका लागू हुने भएको छ । नगरपालिकाले बजार अनुगमनसम्बन्धी निर्देशिका २०७७ साल फागुन १३ गते राजपत्रमा प्रकाशित गरेको थियो । 

बजारमा विक्री हुने समानको मूल्यमा एकरुपता नभएको र म्याद गुज्रेको खाद्य सामाग्रीहरु समेत विक्रीवितरण भइरहेको गुनासो आएपछि नगरपालिकाले पहिलो पटक अनुगमन गर्न लागेको हो । 

जिरी नगरपालिकाले बजार अनुगमनको लागि नगरपालिकाका योजना शाखा प्रमुख मान बहादुर जिरेलको संयोजकत्वमा सुरक्षाकर्मी, सञ्चारकर्मी र जिरी उद्योग वाणिज्य संघको समेत प्रतिनिधित्व हुने गरी अनुगमन समिति गठन गरेको छ ।

नगरपालिकाले जिरीको मुख्य बजार क्षेत्र लिंकन बजार, हाटडाँडा लगायतका व्यापारिक स्थानमा अनुगमन गर्नेछ । सामान्यतया बजार अनुगमको क्रममा अनुगमन टोलीले वस्तु वा सेवा प्रदायक व्यवसायको दर्ता, नविकरण, आपूर्ति, मूल्य, नापतौल, खाद्यवस्तुको म्याद लगायतको परीक्षण गर्नेछ ।