close

पर्चामा भएको फोन नम्बरबाट अनधिकृत पर्चा वितरण गर्ने नियन्त्रणमा

पर्चामा भएको फोन नम्बरबाट अनधिकृत पर्चा वितरण गर्ने नियन्त्रणमा

Trulli
ADVERTISEMENT

काठमाडौं । अनधिकृत प्रचार सामग्री टाँस्ने, वितरण गर्ने व्यक्तिलाई काठमाडौं महानगरपालिकाले नियन्त्रणमा लिएको छ । शनिबार महानगरले ३ जनालाई कलंकी क्षेत्रबाट नियन्त्रणमा लिएर प्रशासनिक जरिवाना तिराएको हो । 

विभिन्न पदमा रोजगारको अवसर, उल्लेख भएका पर्चामा भएको फोन नम्बर पछ्याउँदै रमेश खत्री, माधव पन्त र गणेश आचार्यलाई नियन्त्रणमा लिएर जरिवाना तिराएको महानगर प्रहरीले जनाएको छ । नगर प्रहरी निरीक्षक प्रकाश पण्डित, नायव निरीक्षक राजकुमार चौलागाईँ र सहायक निरीक्षक प्रयास घिमिरेको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

महानगरले सडक वा सडकका भित्ता, विजुलीका पोल, रेलिङ्, बार, पार्क, पर्खालजस्ता ठाउँहरुमा प्रचारका सामग्री टाँस्न रोक लगाएको छ । यस व्यवस्थाको वास्ता नगरी सार्वजनिक स्थानमा पर्चा टाँँस्ने, सडकमा हिँड्नेलाई वितरण गर्ने व्यक्तिहरु भेटिन्छन् । उनीहरुमध्ये केहीले व्यक्तिगत सामग्री र केही संस्थाहरुको सामग्री तथा सेवाका पर्चा, पम्प्लेट टाँस्ने तथा वितरण गर्ने गरेका छन् ।

महानगरले नियन्त्रणमा लिएका गणेश आचार्य एस. वी. जब. सर्भिस लिङ्कसँग आवद्ध छन् । यो कम्पनीले मिति नराखी रिसेप्सनिष्ट, क्लिनर, सेक्युरिटी गार्ड, शिक्षक, ड्राइभर, वाइक होल्डर, हाउस किपिङ्जस्ता १६ शीर्षकका पदमा कर्मचारी अर्जेन्ट लेखेर पर्चा निकालेको छ । तलब कम्तीमा १० हजार बढीमा १६ हजारसम्म राखेको छ । कर्मचारी मागको संख्या कम्तीमा ५ जना र धेरैमा २० जनासम्म लेखेको छ । अन्तरवार्ता नहुने, शतप्रतिशत काम हुने पर्चामा उल्लेख छ । काम कसले दिने हो, कम्पनी कस्तो हो, त्यसको विवरण खुलाइएको छैन ।

गएको बुधबार काठमाडौं महानगरको उपप्रमुखको सचिवालयमा रोजगारका नाममा युवायुवती ठगिँदैछन् भन्ने गुनासो टिपाइएको थियो । सचिवालय प्रमुख सौरभ गौत्तमका अनुसार काम पाइन्छ भनेर कम्पनीमा जानेहरुसँग तलब स्केल देखाएर त्यसबापत शुल्क उठाउने गरेको गुनासो आएको हो । शुल्क उठाउनेहरु वेपत्ता हुन थालेपछि गुनासो आउन थालेको हो ।

उपप्रमुखको सचिवालयका प्रमुख गौतमले भने, ‘पैसा पनि लगे, कम्पनी भएको कोठा पनि बन्द छ, पहिले कुरा हुने गरेको मोवाइलमा फोन लाग्दैन भनेर गुनासो गर्नेहरुले विवरण टिपाए ।’ महानगरमा उक्त गुनासो आएपछि रोजगारमुलक सामग्रीमाथि महानगर प्रहरी बलले दृष्टि राख्न थालेको हो ।

यो घटना हेर्दा प्रचार सामग्रीले सहरी सुन्दरता विगारेको मात्र होइन, गलत प्रचारबाट धेरै व्यक्तिहरु समस्याको शिकार पनि बनाएको देखिएको महानगरले जनाएको छ ।