close

माछापुच्छ्रे न्यायिक समितिमा घरेलु हिंसा र अंशबन्डाको मुद्दा धेरै

माछापुच्छ्रे न्यायिक समितिमा घरेलु हिंसा र अंशबन्डाको मुद्दा धेरै

Trulli
ADVERTISEMENT

कास्की - माछापुच्छ्रे गाउँपालिकाको स्थानीय न्यायिक समितिले सामान्य प्रकृतिको विवादलाई मेलमिलापकर्ताको सहयोगबाट छिनोफानो गर्दै आएको छ । कानुनी प्रक्रियाबाट हुने झन्झटमा नपरी चाँडै न्याय दिनको लागि गाउँपालिकाले मेलमिलापकर्तामार्फत नै विवादको छिनोफानो गर्दै आएको हो । 

गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक सीता अधिकारीका अनुसार मेलमिलापकर्तामार्फत छिनोफानो नहुने विवादलाई मात्रै समितिमा दर्ता गरिन्छ । विवादको प्रकृति हेरी दुवै पक्षलाई सम्बन्धित वडा कार्यालयमा बोलाएर उपाध्यक्षको उपस्थितिमा वडाध्यक्ष र मेलमिलापकर्तासमक्ष छलफल गराइने र सकेसम्म सोहीबाट छिनोफानो गर्ने उनले पालिका खबरलाई सुनाइन् ।

सो छलफलबाट छिनोफानो नभएमा मात्रै न्यायिक समितिमा मुद्दा दर्ता गरिएको उनको भनाइ छ । 'सामान्यता दाजुभाइको झगडा,  अंशबन्डा तथा सामान्य प्रकृतिको विवाद यसरी समाधान हुन्छन्,' उनले भनिन् । 

उनले कार्यभार सम्हालेयता समितिमा करिब ४० वटा मुद्दा दर्ता भएको छ । त्यसमध्ये न्यायिक समितिले  गत आर्थिक वर्ष २०७९/०८० मा दर्ता भएका मध्ये २३ वटाको टुङ्गो लागेको, १० वटा छिनोफानोको प्रक्रियामा रहेको उनले बताइन् । यसै गरी चालू आर्थिक वर्ष २०८०/०८१ मा ७ वटा मुद्दा दर्ता भएको उनले बताइन् । 

समितिमा घरेलु झैझगडा, अंशबन्डा, साँध सिमाना, जग्गाधनीको विवाद, घरेलु हिंसालगायतको मुद्दा दर्ता हुँदै आएको छ । गाउँपालिकाले आवश्यकताको आधारमा एक हप्तामा दुई पटक वा बुधबारमात्रै न्यायिक कार्य गर्दै आएको उनले बताइन् ।