close

रामेछापका वडा वडामा मेलमिलाप केन्द्रको विस्तार

रामेछापका वडा वडामा मेलमिलाप केन्द्रको विस्तार

Trulli
ADVERTISEMENT

रामेछाप– रामेछाप नगरपालिकाले वडा वडामा मेलमिलाप केन्द्रको विस्तार गरेको छ । वडामा मेलमिलाप केन्द्र भएपनि विभिन्न अभावका कारण मेलमिलापको काम गर्न असहज वतावरण भएपछी नगरपालिकाले केन्द्रको विस्तार गरेको हो । 

हाल नगरपालिकाका ९ वटै वडामा मेलमिलाप केन्द्रको विस्तार गरिएको नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक बाल कुमारी कार्की थापाले बताइन् । उनको अनुसार भदौ २२ गते मेलमिलाप केन्द्रको विस्तारको काम सम्पन्न भएको छ । ‘नगरपालिकामा मेलमिलाप कर्ता थिए । मेलमिलाप कर्तालाई सुचिकृत गराएर वडा वडामा मेलमिलाप गराउन छनौट गरेका थियौँ । तर वडामा भनेको जस्तो व्यवस्था भएन ,’ उनले भनिन् । 

वडा कार्यालयले मेलमिलाप केन्द्रलाई कोठा उपलब्ध नगराएको, टेबल, कुर्सी, दराजजस्ता आधारभुत भौतिक पुर्वाधारको पनि व्यवस्था नभएको उनले सुनाइन् । उनले भनिन्, ‘केन्द्रमा आउने मुद्दाहरुको निवेदनपनि कस्ले कोट लगाउने, कहाँ दर्ता गर्ने भन्ने पनि अन्यौल थियो ।’ गत वर्षपनि हरेक वडामा गएर नगरपालिकाले अभिमुखिकरण गरेपनि मेलमिलाप केन्द्रले काम गर्न नसकेको उनले बताइन् । 

अव हरेक वडामा मेलमिलाप केन्द्र विस्तार भइसकेकाले मुद्दालाई १५ दिनसम्म मेलमिलाप केन्द्रमा नै छलफल चलाउने र १५ दिनसम्मको छलफलमा पनि मिलापत्र गराउन नसकेमा उक्त मुद्दा न्यायिक समितिमा दर्ता हुने उनले जानकारी दिइन् । त्यस्ता मुद्दालाई एक हप्ताको म्याद दिएर न्यायिक समितिमा मेलमिलाप केन्द्रले पठाउने उनले बताइन् । उनले भनिन्, ‘त्यसपछीमात्र न्यायिक समितिमा उक्त मुद्दालाई लिएर छलफल चल्छ ।’ यस आर्थिक वर्षमा मेलमिलाप केन्द्रले टुङगो लगाउन नसकेका दुईवटा मुद्दा न्यायिक समितिमा आएको उनले जानकारी दिइन् । वडामा अन्य धेरै विवाद मिलाइएको उनको भनाइ छ । 

बजेटको अभावकै कारण गर्न चाहेको कामपनि गर्न नसकिएको उनको भनाइ छ । ‘गत वर्षमै मेलमिलाप केन्द्र गठन गर्ने र वडा कार्यालयले नै मेलमिलाप केन्द्रको व्यवस्थापन गर्नेगरी अभिमुखिकरण गरेका थियौँ । तर मेलमिलाप केन्द्रको कोठा नै नभएका कारण मेलमिलापकर्ताले मेलमिलापको काम गर्न सक्नु भएन,’ उनले पालिकाखबरसँग भनिन्, ‘गत वर्ष स्थानीय तहको बजेट कटौती भयो । मेलमिलाप केन्द्रको लागि आवश्यक भौतिक पूर्वाधारको पनि व्यवस्थापन गर्न सकिएन ।’ न्यायिक समितिको लागि छुट्याएको बजेट पनि प्रयोग गर्न नसकिएकाले मेलमिलाप केन्द्रको विस्तार गर्न नसकिएको उनले बताइन् । 

यस वर्षदेखि जसरी पनि मेलमिलाप केन्द्रको व्यवस्थापन गर्नको लागि आर्थिक वर्ष सुरु भएदेखि नै काम सुरु गरेको उनले बताइन् । हरेक वडामा केन्द्रको विस्तारका साथै धेरै वडाले छलफलका लागि कोठा उपलब्ध गरासकेको उनको भनभा छ । ‘दराज र टेबलहरुको व्यवस्थापन भइसकेको छ । अब कुर्सीहरुको व्यवस्थापन गर्न बाँकी छ,’ उनले बताइन् ।  

मेलमिलाप केन्द्रको बोर्ड पनि बनाएको उनले जानकारी दिइन् । उनको अनुसार सर्वसाधरणलाई मेलमिलाप केन्द्रको बारेमा थाहा पाउन सहज हुने गरी बोर्डको तयार गरिएको हो ।  

यस आर्थिक वर्षको पहिला चौमासिकमा न्यायिक समितिले मेलमिलाप केन्द्रको विस्तारमा ध्यान दिएको छ । दोस्रो चौमासिकमा अभिमुखिकरणको कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाकी उपप्रमुख थापाले बताइन् । जसअन्तर्गत पालिकाले मेलमिलाप कर्ता, वडा अध्यक्ष तथा वडा सचिवलाई अभिमुखिकरण तालिम उपलब्ध गराउने छ । वडाध्यक्षले जवाफदेहिताा नदेखाउँदा मेलमिलाप केन्द्र निस्कृय हुने र यसले वडाध्यक्षलाई नै अप्ठेरोमा पारेको महशुस गरेको बताउँदै वडामा अभिमुखिकरणको आवश्यकता महसुस गरिएको उनले सुनाइन् । 

मेलमिलाप केन्द्रको विस्तार गर्दैगर्दा मेलमिलाप व्यवस्थापन समितिको महसुस गरिएको उनले बताइन् । त्यसैले वडा अध्यक्षको अध्यक्षता, मेलमिलाप कर्ता सदस्य र वडाको सचिव रहने गरी नगरपालिकाले व्यवस्थापन समिति समेत तयार गरेको छ । 

गत वर्ष न्यायिक समितिलाई बागमती प्रदेशले तीन दिने अभिमुखिकरण तालिम प्रदान गरेको थियो । न्यायिक क्षेत्रबाट नआएकाले पनि उक्त अभिमुखिकरणले आफूलाई कसरि न्यायिक समितिलाई सञ्चालन गर्ने भन्ने विषयमा धेरै सहज बनाएको महसुस उनले गरेकी छिन् । न्यायिक समितिको विषयमा बढेर मात्र बुझ्न नसकिने बताउँदै अभिमुखिकरणले क्षमताको विकास भएको उनको भनाइ छ । समितिको कामलाई चुस्तदुरुस्त बनाउन यस्ता अझै धेरै अभिमुखिकरण तालिमको आवश्यकता रहेको उनले बताइन् ।