close

सुर्ती बिक्री गर्नेलाई ५ हजारसम्म तिराउने कानुन राजपत्रमा प्रकाशित

सुर्ती बिक्री गर्नेलाई ५ हजारसम्म तिराउने कानुन राजपत्रमा प्रकाशित

Trulli
ADVERTISEMENT

झापा– कनकाई नगरपालिकाले सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले साउन १ गतेदेखि लागु हुनेगरी सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाएको हो । 

सुर्तीजन्य पदार्थ स्वास्थ्यको लागि एकदमै हानिकारक रहेकाले प्रतिबन्ध लगाएको नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीले बताइन् । ‘सुर्तीजन्य पदार्थ र चुरोटमा निकोटिन पाइन्छन् । रक्त नशामा रहेको एंडोथेलियममा यो गएर बोसोको रुपमा जम्मा हुन्छ । जसले हाम्रो प्लेट्लेट्सलाई ब्लक गर्छ । प्लेटलेट्स रगत जमाउने एउटा तत्व हो । प्लेटलेट्स त्यहीँ टाँसिएर रहने भएकाले यसले काम गर्न नसक्दा यसले हाम्रो स्वास्थ्यमा ठूलो असर पुर्‍याउँछ । ६० प्रतिशत क्यान्सर जन्य रोग सुर्तीजन्य पदार्थमा पाइने निकोटिनको कारणले लाग्ने गरेको विभिन्न अनुसन्धानमा समेत पत्ता लागेको छ,’ उनले भनिन् । 

त्यसैले कनकाई नगरपालिकाले गत असार १० गतेको नगरसभाबाट सुर्तीजन्य पदार्थलाई नियन्त्रण र निषेधन गर्ने प्रस्ताव अनुमोदन गरेर असार १२ गते प्रकाशित गरेर सो निर्णय गरिएको उनले बताइन् । नगरपालिकाको सबै वडामा सुर्तीजन्य पदार्थ निषेध गर्न आह्वान गरिएको उनले जानकारी दिइन् । 

नगरपालिकाभित्रका बाल सञ्जाल, बाल क्लब, विद्यालय, रेडक्रस, लायन्स क्लब, जेसिसलगायतका संस्था परिचालन गरेर उनीहरुको सहयोगमा सुर्तीजन्य पदार्थ निषेधनको काम अघि बढाएको उनले जानकारी दिइन् । नगरपालिकाको सो निर्णय कति कार्यान्वयन हुन्छ भन्ने कुरा नगरपालिकाले चालेको कदमबाट भावी दिनमा थाहा हुने उनले बताइन् । 

एकैचोटी सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सक्ने अवस्था नगरेको उनले बताइन् । ‘केन्द्रीय सरकारबाटै यो नियन्त्रित हुनुपर्ने हो । हामी हाम्रो नगरपालिकाबाट यस कामको सुरुवात गरेका छौँ । यो एकप्रकारको चुनौती पनि हो ।’

बालबालिकाहरुको लागि पालिकाको सो निर्णय अवसरको रुपमा रहेको उनको बुझाइ छ । उनले भनिन्, ‘बालबालिका देशको भविष्य हुन् । उनीहरु कुलतमा नलागुन् भनेर हामीले यो प्रयास गरेका हौँ ।’

ज्येष्ठ नागरिकको सभा, सम्मेलन, बैठकहरुमा समेत उपस्थित भएर उनीहरुलाई एकैपटक सुर्तीजन्य पदार्थ छाड्न नसकेपनि बिस्तारै बिस्तारै यो लतलाई घटाउन अनुरोध गरेको उनले बताइन् । उनले थपिन्, ‘नातिनातिनाले सुर्तीजन्य पदार्थ सेवन गरिरहेको नदेखुन् भनेर उहाँहरुलाई अनुरोध गछौँ।’ 

नगरपालिकाको वडा नं ५, ६ र ८ लाई बालमैत्री वडा घोषणा गरिएको छ । अब ६ ओटा वडा बालमैत्री वडा घोषणाको क्रममा रहेको उनले जानकारी दिइन् । बालमैत्री वडा घोषणाको काम सँगसँगै सुर्तीजन्य पदार्थ निरुत्साहन नगरपालिकाले गरेको उनले बताइन् । ‘यो काममा बालबालिकाहरु पनि लागेका छन् । कुनै पनि विद्यालयको डस्टबिनमा चुरोट र सुर्तीको खोल नभेटियोस् भनेर बाल सञ्जालमा आवद्ध बालबालिकाले डट्स्बिनको जाँच गर्छन्,’ उनले सुनाइन् । 

सुर्तीजन्य पदार्थमा लत लागिसकेका व्यक्तिहरुलाई बिस्तारै कुलतबाट छुटाउने र बालबालिकालाई कुनै पनि हालतमा लाग्न नदिने उदेश्यको साथ सो प्रयास गरिएको उनले बताइन् । हाल सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न अनुरोधको भाषाको प्रयोग गरिएको उनले पालिकाखबरसँग बताइन् । नगरपालिकाको कारबाहीको प्रकृयामा जान समयसीमा समेत निर्धारण भएको उनको भनाइ छ ।

नगरप्रहरी भर्तीको लागि नगरपालिकाले भर्खरै सूचना प्रकाशित गरेको र पालिकामा नगरप्रहरी आइसकेपछि अनुगमनको काम तिव्र रुपमा गर्ने उनको भनाइ छ । माइकिङ गरेर सुर्तीजन्य पदार्थ बिक्री नगर्न अनुरोध गर्ने उनले बताइन् । उनले भनिन्, ‘त्यति गर्दा पनि सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवन गरेको पाइएमा पाँच हजारसम्म जरिवाना गर्ने कनकाई राजपत्रमा उल्लेख गरिसकेका छौँ ।’

हाल जरिवानाको चरणमा गई नसकेको तथा बजार बजारमा गएर सुर्तीजन्य पदार्थ बिक्री नगर्न अनुरोध गरिएको नगरपालिकाकी उपप्रमुख शिवाकोटीले बताइन् । ‘शदिऔँदेखि लागु भइरहेको कुरा एकैचोटी तोड्न गाह्रो हुन्छ । हाम्रो छिमेकी पालिकाहरुले पनि निषेधन गर्ने तयारीमा हुनुहुन्छ । यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न छिमेकी पालिका र सरकारले पनि समन्वय र सहकार्य गर्न आवश्यक छ’ उनले भनिन् । 

अचेल होटल होटलमा तमाखु तान्ने फेसन बनेको प्रति उनले चिन्ता व्यक्त गरिन् । उनले चिन्ता व्यक्त गर्दै भनिन्, ‘यसले अहिलेका नानी बाबू जो भविष्यको कर्णधार हुन् । उनीहरुमा नराम्रो बानी बसिरहेको छ । यसलाई हामी स्थानीय सरकारमा भएका प्रतिनिधिले खबरदारी गर्नुपर्छ भनेर हामीले सुर्तीजन्य पदार्थ निषेध गर्ने निर्णय गरेका हौँ । ’