close

विद्यालय आसपास सुर्ती बिक्री गरेमा व्यवसाय दर्ता प्रमाणपत्र खारेज

विद्यालय आसपास सुर्ती बिक्री गरेमा व्यवसाय दर्ता प्रमाणपत्र खारेज

Trulli
ADVERTISEMENT

सुनसरी- इटहरी उपमहानगरपालिकाले विद्यालय वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्न रोक लगाएको छ । 

उपमहानगरपालिकाले यहाँका विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्नेलाई कार्वाही गर्ने निर्णय गर्दै अनुगमनलाई समेत तीव्र बनाइएको उपमहानगरपालिकाले उल्लेख गरेको छ । अनुगमनको क्रममा पहिलो पटक ‘वार्निङ’ दिइएको छ । नगरपालिकाको निर्णयको निरन्तर अवज्ञा गरेमा व्यवसाय दर्ता प्रमाणपत्र नै खारेज गरिदिने उपमहानगरपालिकाले जनाएको छ । 

विद्यालय वरपर खुलेआम सूर्तीजन्य र मादक पदार्थको बिक्री वितरण हुन थालेको गुनासो बढेपछि उपमहानगरपालिकाले उक्त अभियानको सुरुआत गरेको नगरपालिकाका प्रवक्ता दिवस पोखरेलले बताए । विद्यालय वरपर रहेका पसलहरुमा सुर्तीजन्य पदार्थ भए/नभएका बारेमा उपमहानगरपालिकाका कर्मचारीले निरन्तर अनुगमन गर्ने भएको छ ।

विद्यालय क्षेत्र आसपासमा सञ्चालनमा रहेका होटल तथा किराना पसलमा सुर्तीजन्य पदार्थ तथा मदिरा नराख्न उपमहानगरपालिकाले सबैमा आग्रह गरेको छ । उपमहानगरपालिकाको आग्रहलाई अटेर गरी मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्नेलाई कानूनी दायरामा ल्याइने नगर प्रवक्ता दिवस पोखरेलले पालिकाखबरलाई बताए । विद्यालय क्षेत्रको करिब १०० मिटर वरपर बेचबिखन नगर्न सचेत गराइएको छ ।