close

न्याय पाउन १०० रुपैयाँ !

न्याय पाउन १०० रुपैयाँ !

Trulli
ADVERTISEMENT

धनुषा - शहीदनगर नगरपालिकाले १०० रुपैयाँमै न्याय दिँदै आएको छ । नगरपालिकाको न्यायिक समितिमार्फत स्थानीय बासिन्दालाई १०० रुपैयाँमै न्याय दिइरहेको हो । 

नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक सुनीताकुमारी सिंहका अनुसार स्थानीय क्षेत्रमा हुने विवादको समाधानको लागि समितिमा १०० रुपैयाँमा निवेदन दर्ता गरिन्छ । पालिकामा आउने विवादलाई समितिका सदस्यहरूबीच सामान्य छलफल गरी १०० रुपैयाँ शुल्क तिरी निवेदन दर्ता गरिने उनले पालिकाखबरलाई बताइन् ।

उनले भनिन्, '१०० रुपैयाँ दस्तुर  तिरेपछि अरु रकम तिर्नु पर्दैन । तर जग्गाकाे विवादमा जमिन नाप्नु पर्ने भएमा अमिनका लागि ५०० रुपैयाँ दस्तुर तिर्नुपर्छ ।'

समितिमा दर्ता भएसँगै आवश्यक प्रक्रिया अपनाएर मुद्दाका वादी र प्रतिवादीबीच तारेख तथा छलफलमार्फत न्याय प्रदान गर्दै आएको उनले सुनाइन् । दुवै पक्षबीच छलफल गराउँदा सहमती भएमा मेलमिलापमार्फत र नभए कानुनी प्रक्रियामार्फत छलफल गरेर विवादको समाधान गर्दै आएको उनको भनाइ छ । 

उनका अनुसार समितिमा हालसम्म करिब साढे २०० वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये १८० वटाको छिनोफानो भइसकेको उनले बताइन् । समितिमा जग्गा विवाद, सडक, महिला हिंसा तथा सामान्य झै-झगडाकाे विवाद पर्ने गरेकाे उनकाे भनाइ छ ।

आफ्नो संयोजकत्वमा दुई जना सदस्य र एक जना कम्प्युटर अपरेटरमार्फत सेवा दिँदै आएको उनले जानकारी दिइन् । तर अधिवक्ताको व्यवस्थापन नभएकाले न्यायिक कार्य गर्न केही समस्या सृजना भएको उनको अनुभव छ । 

न्यायिक समितिको लागि नगरपालिकाले मेलमिलापकर्ताको लागि तालिम दिए पनि सूचीकृत हुन नसकेको उनले बताइन् । मेलमिलापकर्ता सूचीकृत भएसँगै न्यायिक कार्य गर्न सहज हुने उनको विश्वास छ ।