close

सञ्चार माध्यमको मनपरीतन्त्रमा कठोर बन्दै नगरपालिका

सञ्चार माध्यमको मनपरीतन्त्रमा कठोर बन्दै नगरपालिका

Trulli
ADVERTISEMENT

रुपन्देही- देवदह नगरपालिकाले पालिकाको स्वीकृति लिएरमात्रै विज्ञापन तथा सूचना प्रकाशित गर्न निर्देशन दिएको छ । नगरपालिकाको आर्थिक स्रोतलाई प्रभावकारी बनाउनका लागि सो निर्देशन दिएको हो । 

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाका अनुसार पालिकाको अनुमतिबिना सूचना तथा विज्ञापन प्रकासन गरी मनपरी भुक्तानी माग्ने प्रवृत्तिलाई रोक्न सो निर्णय गरेको हो । नगरपालिकामा आर्थिक अनुशासन कायम गर्नको लागि पालिकाले सो निर्णय गरेको उनले पालिकाखबरलाई बताए । 

नगरपालिकाकै बाटो भएर नेपालको जुनसुकै स्थानमा जान सक्ने भएकाले स्थानीय तथा राष्ट्रियस्तरका सञ्चारमाध्यमले पनि मनपरी भुक्तानी माग्ने गरेको उनको गुनासो छ । सञ्चार माध्यमले वर्षभरीको समाचार लेखेर प्रकासित सामग्रीकाे आधारमा एक लाखसम्मको भुक्तानी माग्ने गरेको उनको अनुभव छ । सामाजिक सञ्चाल या अन्य कुनै माध्यमबाट देखेको जानकारी आधारमा पालिकाको व्यक्तिको नाम हालेर विज्ञापन हाल्ने र बाटो परेको बेला पालिकासँग भुक्तानी माग्ने गरेको उनको भनाइ छ । 

‘सूचना वा विज्ञापन हाल्नको लागि सामाजिक सञ्जाल वा टेलिफोनमार्फत अनुमति लिन सकिन्छ । तर स्वीकृति नलिएर नाम नै अशुद्ध हुने गरी विज्ञापन छाप्ने र भुक्तानी माग्ने प्रवृत्ति छ,’ उनले भने, ‘आफूखुसी सूचना हालेर भुक्तानी माग्दा पालिकाको आर्थिक स्रोत पनि प्रभावकारी हुँदैन ।’ आफू कार्यकारी तथा जिम्मेवारी पदमा रहेकाले सो निर्देशन दिएको उनले सुनाए । 

उनले राज्य तथा पालिकाकाे काेषलाई सदुपयाेग गर्नका लागि पनि साे निर्णय गरेकाे बताए । सञ्चार माध्यमको मनपरीतन्त्र अन्त्य गर्न तथा विधिको शासनको पालना गराउनका लागि नगरपालिकाले सो निर्देशन दिएको उनले बताए । पालिकाको अनुमति नलिई भुक्तानी माग गर्न नपाइने र स्वीकृति लिएमा भुक्तानी गर्ने उनले बताए ।