close

महिला उपाध्यक्ष भएकै कारण न्यायिक समितिका लागि कम बजेट

महिला उपाध्यक्ष भएकै कारण न्यायिक समितिका लागि कम बजेट

Trulli
ADVERTISEMENT

कञ्चनपुर– बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक शान्ति नाथले आफू महिला भएकै कारणले गाउँपालिकाबाट कम बजेट पाएको गुनासो गरेकी छिन् । न्यायिक समितिलाई प्रभावकारी बनाउनका लागि आफूले १६ लाख रुपैयाँ बजेट माग गरेपनि महिला भएकै कारणले दुई लाख रुपैयाँ मात्रै बजेट पाएको उनले बताइन् । 

गाउँपालिकामा खुल्ला नाका भएकाले महिलाहरु धेरै पीडित भएको र सो समस्या समाधानको लागि आफूले न्यायिक समितिकाे लागि धेरै बजेट माग गरेको उनले बताइन् । तर गाउँपालिकाले समितिको बैठक भत्ता पुग्ने गरी मात्रै बजेट विनियोजन गरेको उनले सुनाइन् ।  

‘खुल्ला नाकाका महिलाहरु अति पिडित छन् । यो सिमानामा महिलाहिंसाका घटना बढी नै हुन्छन यही कारणले मेलमिलाप समिति गठन गर्नुपर्ने वजेट नै छैन । गाउँपालिका अध्यक्षलाई पनि बारम्बार न्यायिक समितिका लागि बजेट माग गर्दा ‘छैन’ भन्नुहुन्छ,’ उनले भनिन्, ‘म संयोजक हुँ । मैले १६ लाख राखेकी थिए । तर भत्ताको लागि दुई लाख मात्रै विनियोजन गरेको छ ।’

मागेको भन्दा निकै कम बजेट पाएपछि चुपचाप काम गर्न बाध्य भएको उनले सुनाइन्  । उनका अनुसार समितिमा हालसम्म ३५ वटा मुद्दा  दर्ता भएको छ । सोमध्ये ३१ वटा मुद्दाको छिनोफानो भएको उनले जानकारी दिइन् ।

समितिमा ऐलानी जग्गा विवाद र घरेलु हिंसाका मुद्दा सबैभन्दा बढी आउने गरेको छ । उनले भनिन्, ‘आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाहरु दुवै पक्षलाई राखेर चित्त बुझिने गरी मेलमिलाप गरेका छौँ ।' कुटपिटका मुद्दा भए प्रहरीको सहकार्यमा मेलमिलाप गरेको संयोजक तथा उपाध्यक्ष नाथले बताइन् ।’

नेपाली कागजका लागि ५०० रुपैयाँ दस्तुर तिर्नुपर्ने भएकाले पीडितको कम खर्चका लागि साधारण कागजातमा आवेदन दिने व्यवस्था मिलाएको उनले बताइन् ।