close

७ महिनादेखि ठप्प विष्णुपुरमा शुक्रबार पहिलाे गाउँसभा

७ महिनादेखि ठप्प विष्णुपुरमा शुक्रबार पहिलाे गाउँसभा

Trulli
ADVERTISEMENT

सिरहा -  चालु आर्थिक वर्ष २०८०/०८१ को करिब सात महिने कार्यावधि सकिन लाग्दा विष्णुपुर गाउँपालिकाले आधिकारिक रुपमा पहिलो पटक गाउँसभा गर्न लागेको छ ।  गाउँपालिकाले गत असारमै गाउँसभा गरे पनि सोलाई कार्यान्वयन गर्न नसकेपछि भोलि शुक्रबार गाउँसभा गर्न लागेको हो । 

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत उज्वल आनन्दका अनुसार गत असार गाउँसभा भएसँगै गाउँपालिका अध्यक्ष उमेश यादवलाई भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो । गाउँपालिकाले अध्यक्ष यादवले अख्तियारी दिन नसके पछि सो गाउँसभा कार्यान्वयन हुन नसकेको र पालिकाको सबै कार्य ठप्प हुँदै आएको उनले पालिकाखबरलाई सुनाए ।

‘गत असारमा एक पटक गाउँसभा भएको थियो । गाउँसभा भएपछि गाउँपालिका अध्यक्ष भ्रष्टाचार मुदामा निलम्बन भयो,’ उनले भने,  ‘उहाँले अख्तियारी दिन सक्नु भएन । अख्तियारी नदिएकोले गाउँसभाको कागजपत्र र रजिष्टारहरु केही फेला पार्न सकेको छैन ।’

कुनै पनि कागजात फेला नपरेको आफूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग राय मागेर शुक्रबारको लागि गाउँसभा आव्हान गरेको उनको भनाइ छ । गाउँसभामा बहुमत भएमा चालु आवको लागि नीति तथा कार्यक्रम पेश गरिने उनले सुनाए । 

‘भोलि बहुमत पुगेमा नीति तथा कार्यक्रम पेश हुनेछ । तर बहुमत नै पुगेन भने पेश नै गर्न मिलेन,’ उनले भने, ‘शुक्रबार गाउँसभा भएमा अर्को बैठकमा केही ऐन र विद्येयक पारित हुनेछ ।’

गाउँपालिकामा आधिकारिक रुपमा गाउँसभा नभएपछि पालिकाका कर्मचारीले ६ महिनादेखि तालिम नै पाउन नसकेको उनले सुनाए । साथै  हालसम्म कुनै योजनाको कार्यक्रम तथा सेवा सञ्चालन हुन नसकेको उनको भनाइ छ । 

उनका अनुसार गाउँपालिकामा ३९ जना सदस्य निर्वाचित भएका छन् । सोमध्ये गाउँपालिका अध्यक्ष निलम्बन भएपछि हाल ३८ जना सदस्य रहेका छन् । 

निर्वाचित सदस्यमध्ये गाउँपालिका अध्यक्ष यादवसहित २२ जना सदस्य जनता समाजवादी पार्टीबाट निर्वाचित भएका छन् । गाउँपालिका उपाध्यक्ष रेणुकुमारी यादवसहित १७ जना सदस्य नेपाली काग्रेसबाट निर्वाचित भएका छन् । गाउँसभामा बहुमतको लागि कम्तिमा २० जना हुनु पर्ने उनले सुनाए ।