close

केराबारीको गाउँसभा : संशोधित विनियोजन प्रस्ताव पारित

केराबारीको गाउँसभा : संशोधित विनियोजन प्रस्ताव पारित

Trulli
ADVERTISEMENT

मोरङ - केराबारी गाउँपालिकामा १३ औँं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाले बिहिबार एक कार्यक्रमको आयोजना गरी गाउँसभा सम्पन्न गरेको हो । 

गाउँपालिकाको प्रवक्ता नारायणप्रसाद भुजेलका अनुसार गाउँसभाबाट आर्थिक वर्ष २०८०/०८१ को संशोधित विनियोजन प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । चालु आवमा विनियोजित बजेटबाट चार करोड रुपैयाँ अपुग हुने देखिएपछि संशोधित विनियोजन  पारित गरेको उनले पालिकाखबरलाई सुनाए । 

‘चालु आवमा चार करोड रुपैयाँ अपुग हुने देखियो । तर थप योजना पनि माग भइरहेको छ । ती सबैलाई समेटेर संशोधित विनियोजन पारित भयो,’ उनले भने । 

गाउँपालिकामा अधिकांश विद्येयक निर्माण भइसकेको हाल कुनै ऐन कानुन पारित नगरेको उनले सुनाए । तर विभिन्न समसामयिक विषयमा छलफल भएको उनको भनाइ छ । 

‘मदन भण्डारी लोकमार्गको सडक क्षेत्राधिकारको बारेमा संघीय मन्त्रालय तथा मन्त्री परिषद्लाई अनुरोध गर्ने भन्ने विषयमा ध्यानाकर्षण भयो,’ उनले भने । 

गाउँपालिकाको चारमसे घारी आसपासमा हात्ती आंतकबाट धेरै क्षति हुने गरेकोले सो नियन्त्रणबारे छलफल भएको उनले सुनाए । उनले भने, ‘हात्तीबाट हुने क्षति न्युनिकरणको लागि जंगल आसपास क्षेत्रमा बत्ती हाल्ने कुरामा छलफल भयो ।’ 

पूर्वाधार विकासमा समेट्नु पर्ने योजनाको बारेमा छलफल भएको उनको भनाइ छ। गाउँसभामा गाउँपालिकाका सबै जनप्रतिनिधि उपस्थित भएको उनले सुनाए । उनका अनुसार गाउँसभामा ५४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।