close

दुबै पक्षलाई जिताउनकै लागि ढिलो न्याय

दुबै पक्षलाई जिताउनकै लागि ढिलो न्याय

Trulli
ADVERTISEMENT

सोलुखुम्बु - लिखुपिके गाउँपालिकाको न्यायिक समितीले चालु आर्थिक वर्षमा दुई वटा मात्रै मुद्दाको छिनोफानो गरेको छ । समितिमा चालु आवमा ९ वटा मुद्दा दर्ता भए पनि दुई वटा मात्रै फछ्र्यौट गरेको हो । 

गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक ङवाङ ल्हाक्पा शेर्पाका अनुसार पालिकामा आएका मुद्दालाई मेलमिलापमार्फत छिनोफानो गराउनका लागि केही मुद्दाको मात्रै फछ्र्यौट गरेको हो । मेलमिलापकर्तामार्फत दुबै पक्षलाई समझदारीमा ल्याई मेलमिलाप गराउनका लागि न्यायिक कार्य थाती राखेको उनले पालिकाखबरलाई सुनाए । 

सोका लागि गाउँपालिकाले माघ महिनामै पालिकाभित्रका सबै वडामा ५ जना मेलमिलाप सहजकर्तासहित वडागत मेलमिलाप केन्द्र गठन गरिसकेको उनले सुनाए । केन्द्र स्थापना गरेसागै दुई वटा मुद्दा मेलमिलापमार्फत छिनोफानो गरिसकेको उनले बताए । 

गाउँपालिकाले मेलमिलापसम्बन्धी ४८ घण्टे तालिम दिएसँगै केन्द्र गठन गरेको उनको भनाइ छ । गत वर्ष नै गाउँपालिकामा मेलमिलापसम्बन्धी तालिम सञ्चालन गर्नेृ भनिए पनि बजेट अभाव हुन नसकेको उनले सुनाए । तर चालु आवमा बजेटको निकासा गरी सो कार्यक्रम सञ्चालन गरिसकेको उनले सुनाए । 

मेलमिलापकर्ताले दुबै पक्षलाई जीतको महसुस गराउने भएकोले गाउँपालिकाले प्राथमिकतामा राखेको उनको भनाइ छ । उनका अनुसार न्यायिक समितिमा सामान्य झगडा, लेनदेन, घरायसी हिंसा लगायत विभिन्न मुद्दा दर्ता हुने गरेका छन् । मेलमिलाप केन्द्रले गर्न नसकेको मुद्दा मात्रै न्यायिक समितिमा आउने उनले सुनाए ।