close

विपद्को पीडा : आँसु झार्ने फुर्सद छैन मेयर भण्डारीलाई (फोटो फिचर)

विपद्को पीडा : आँसु झार्ने फुर्सद छैन मेयर भण्डारीलाई (फोटो फिचर)

Trulli
ADVERTISEMENT

सल्यान । यसपाली झरीले धेरैको दसैँलाई खल्लो बनायो । निधारभरी टिका थाप्नु पर्ने समयमा आएको बाढी र पहिरोले कतिका घरलाई सुनसान बनायो । हाँसोलाई आँसुमा बदल्यो । सारा देशलाई दशा लागेको बेला जनप्रतिनिधिले कसरी दसैँ मान्नु ?

दसैँको टिका लगाउन घरमा कुरिरहेका पाहुनालाई बिर्सिएर सल्यानको शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी पनि विपद्मा परेकाहरू आँसु पोछ्नै खटिरहेका थिए । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको नतिजासँगै स्थानीयको सेवामा खट्नु पर्दा उनले परिवारसँग समय बिताउन पाएका थिएनन् ।

दसैँमा घरमा टिका लगाएपछि आफन्त कहाँ जाने योजना भण्डारीको थियो । तर, दसैँलाई नै नमिठो बनाएको झरीले यो सबै योजनालाई भताभुङ्ग बनायो । दसैँ त अर्को वर्ष पनि मनाउन पाइन्छ भन्ने सोचेरै उनी जनप्रतिनिधिका नाताले विपद्मा परेको स्थानीय कै माझ देखिए । स्थानीयलाई सरकार छ भन्ने महसुस दिलाए ।

निरन्तरको वर्षासँगै शारदा नगरपालिकाका सुकेला, भगवती खोला र शारदा नदीमा आएको बाढीले विनाश निम्त्याउन थालिसकेको थियो । टिकाभन्दा अघिदेखि नै आएको वर्षाले मेयर भण्डारी मात्रै होइन शारदा नगरपालिकाका कसैले पनि राम्रोसँग दसैँ मनाउन पाएनन् । 

स्थानीयका घरहरू डुबान र पहिरोमा परेका थिए । जनजीवन निकै कष्टकर बन्दै थियो । मानिसहरू हराइरहेका थिए । यस्तोमा मेयर भण्डारीको ढुक्क भएर कहाँ बस्न सक्थे र !

हुनत वर्षा सुरु भएसँगै उनले सामाजिक सञ्जालमार्फत स्थानीयलाई सचेत रहन आग्रह पनि गरेका थिए । उनले निरन्तर केही दिन वर्षा हुने भएकाले शारदा नदी  किनार र आसपास नजान सबैलाई ध्यानाकर्षण गरेका थिए । तर, दैवीप्रकोप न हो, शारदा र अन्य नदिको ताण्डवलाई उनको सूचनाले रोक्न सकेन ।

अनि मेयर भण्डारी केही सहयोगी र डोजरलाई साथ लिएर अवरुद्ध राजमार्ग खुलाउन हानिए । दसैँमा एकजना डोजरधनीले डोजर उपलब्ध गराए । अनि नेपाली सेनासँग सहकार्य गरेर वर्षा र झरी नभनेर उनी निरन्तर जनताको सेवामा खटिरहे ।

उद्धारको क्रममा वडा नं ८ को मार्के घोरेनी पाखाको पहिरोमा हराइरहेका १२ वर्षीय अजय विकको शव निकाल्दा भने उनले आँखाको भेललाई रोक्न सकेनन् । तर, विपद्माथि विपद् थपिँदै गर्दा उनले स्थानीयको दुखमा उनीहरूलाई अंकमाल गर्दै रुने मौका भने पाएका छैनन् ।

हुनत उनले सामाजिक संजालमा लेखेका थिए- ‘लगातारको वर्षाले मलाइ रातभरी निदाउन दिएको छैन । त्यो सुके, भगवती, शान्तिनगर खोला जसमा मैले दिनभरी उद्धारको काम गरे, तिनीहरू अहिले शान्त छन् होला कि, मेरा प्रिय जनतालाई फेरी दुःख दिइरहेका होलान् । अरू तमाम खहरे खोलाहरूको अवस्था कस्तो छ होला, घर भत्किएका परिवारको अवस्था, परिवारका सदस्य गुमाएकाहरूको अवस्था सम्झिँदा मन कुँडिएर आउँछ ।’ 

उनले अगाडि लेखेका छन्, ‘कति ठाउँका बाटो अवरुद्ध छन्, नदीको बेग अझै तीव्र बन्दै गएको होला, श्रोत साधनको धेरै नै कमी छ, निजी डोजरसमेत उपलब्ध हुन सकेको छैन, उज्यालो कतिखेर होला र ती दुखेका मनमा मलम लगाउन सकुँला भनेर झ्यालबाट बाहिर हेर्दै बसेको छु । हे भगवान मेरा जनताको रक्षा गर्नु !!’

तस्विर साभार : मेयर भण्डारीको फेसबुकबाट