close

व्यास गाउँपालिका कार्यालयमा १० दिनदेखि ताला, सेवा ठप्प

व्यास गाउँपालिका कार्यालयमा १० दिनदेखि ताला, सेवा ठप्प

Trulli
ADVERTISEMENT

दार्चुला - जनताको सबैभन्दा नजिकको स्थानीय सरकारको मूल ढोकामा १० दिनदेखि लागेको ताला खुलेको छैन । दार्चुलाको व्यास गाउँपालिका कार्यालय सुनसेरामा भदौ २६ मा लगाइएको ताला नखुलेको हो ।


व्यास गाउँपालिकामा नेकपा निकटका वडाध्यक्ष र नेता/कार्यकर्ताले लगाएको ताला खुल्न नसक्दा सेवाग्राही समस्यामा परेका छन् । ताला लगाइएको लामो समयसम्म पनि खुलाउने प्रयास नहुँदा सेवाग्राही समस्यामा परेका छन् । ताला नखुल्दा गाउँपालिकाबाट प्रवाह हुने सेवा ठप्प छ । 


व्यास–४ का स्थानीय नरेन्द्र भट्ट गाउँपालिकामा लगाइएको तालाका कारण आफूहरूको नागरिकता सिफारिस रोकिएको बताउँछन् । जनताको घरदैलोको सरकारमा ताला लागे पनि खुलाउने प्रयास नहुँदा सेवाग्राही दिनहुँ कार्यालय धाएर   फर्किन बाध्य छन् । ‘गाउँपालिकाको १४ वटै कक्षमा तालाबन्दी हुँदा प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषि क्षेत्रका कार्यक्रमका फाराम भर्न पाइएको छैन’, स्थानीय नरेन्द्र विष्टले भने, समयमै फाराम भर्न नपाए रोजगारी गुम्ने चिन्ता छ ।’ 


व्यास–४ का जगन्नाथ भट्ट कोरोनाका कारण स्थानीयले रोजगारी गुमाइरहेको अवस्थामा गाउँपालिकामै ताला लागेपछि सास्ती भोग्नु परेको बताउँछन् ।  ‘हामी गाउँपालिकाबाट दिने सेवा–सुविधा पाउनबाट वञ्चित भएका छौं’, उनले भने, ‘जनतालाई प्रत्यक्ष सेवा दिने निकायमा तालाबन्दी हुँदा सबै बिग्रियो ।’  समयमै योजना सम्झौता भएर काम अघि बढ्यो भने हातमुख जोर्न सहज हुने स्थानीयको बुझाइ छ । भट्ट भन्छन्, ‘तालाबन्दी समाधान होइन, दुवै पक्षले वार्ताबाट समाधान खोज्नुपर्छ ।’


गाउँपालिका कार्यालयमा तालाबन्दी भएपछि दैनिक कामकाज प्रभावित हुँदा कर्मचारीहरुको दैनिक हाजिरी, दर्ता चलानी, उपभोक्ता समिति गठन तथा सम्झौता काम प्रभावित भएको व्यास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले जानकारी दिए ।  भदौ २६ मा कार्यपालिका बैठक बस्ने तय भए पनि तालाबन्दीका कारण बस्न नसकेको उनले बताए । ‘विभिन्न मन्त्रालयका पत्रहरु पठाउनु थियो’, उनले भने, ‘तालाबन्दीका कराण सबै काम ठप्प छ ।’


गाउँपालिकामा तालाबन्दी गरेर नेकपा निकटका वडा नम्बर १, ३ र ४ का वडाध्यक्षहरु र गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकी पनि सदरमुकाम खलंगामै छन् । वडा नम्बर ३ तुसरपानीमा पहिरोले घरहरु जोखिममा परेपछि त्यहाँका स्थानीयले धुवाँमुक्त कार्यक्रमअन्तर्गतको जस्तापाता प्रयोग गरेका थिए । 


धुवाँमुक्त कार्यक्रमको जस्तापाता प्रयोग भएको भन्दै वडा नम्बर ३ का ५ योजना कटौती गरेर रकम रकमान्तर भएपछि गाउँपालिकामा विवाद बल्झिएको हो । गाउँसभाबाट पारित भएका योजनाहरु वडाको असहमतिका बाबजुद कार्यपालिका बैठकबाट रकमान्तर गरिएपछि सुरमा वडा नम्बर ३ ले तालाबन्दी गरेको हो ।


५ योजना कटौतीबाट साढे ४ लाख रुपैयाँ वडामा नोक्सानी भएको भन्दै सुरु भएको आन्दोलनमा राजनीति मिसिएपछि अहिले गाउँपालिकाको कामकाज ठप्प छ ।  व्यास गाउँपालिका वडा नम्बर ३ वडाध्यक्ष उपेन्द्रसिंह धामी आफ्नो असहमति हुँदाहुँदै पनि गाउँपालिकाले एकलौटी गर्न खोजेपछि तालाबन्दी गर्नु परेको बताउँछन् ।


वडा नम्बर ३ कार्यालयले छनोट गरेका योजनाहरु स्वयंसेविका पारिश्रमिक, तुसरपानी घोडेटो बाटो निर्माण, कृषि सहजकर्ता र टोल सुधार कृषक महिलालगायत कार्यक्रमको व्यास गाउँ कार्यपालिका बैठकले शीर्षक परिर्वतन गरी रकमान्तर गरेको थियो । गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले कार्यपालिका बैठकमा सहमतिमै योजनाको रकम रकमान्तर गर्ने निर्णय भएको दाबी गरे । उनले तालाबन्दी खुलाउने विषयमा छलफल भइरहको बताए ।


गाउँपालिकाले वडा समितिको अधिकार मिचेको आरोप


व्यासका ३ वडा अध्यक्षहरुले गाउँपालिकाले वडा समितिको अधिकार मिचेको आरोप लगाएका छन् । गाउँपालिकाले योजनाको उपभोक्ता समिति गठनमा वडाध्यक्ष र वडा समितिको अधिकार मिचेर उपभोक्ता समिति गठन गरेको उनीहरुको आरोप छ ।


सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गर्दै व्यास वडा नम्बर १, ३ र ४ का वडाध्यक्षहरुले स्थानीय तह सञ्चालन ऐनले दिएको अधिकारसमेत गाउँपालिकाले कुण्ठित गरेको आरोप लगाए । उपभोक्ता समिति गठन गर्दा राजनीतिक दलका जिल्लास्तरीय नेतादेखि एउटै परिवारका नातागोतालाई समेत उपभोक्ता समितिको अध्यक्ष र कोषाध्यक्ष बनाइएको उनीहरुको दाबी छ ।


व्यास गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अशोकसिंह बोहराले भने, ‘वडा समितिको अधिकार मिचेर गाउँपालिकाले एकलौटी कार्यक्रम सञ्चालन गरेको छ । अधिकार प्रयोग गर्न पाएका छैनौं’, उनले भने, ‘बहुमतको आडमा गाउँपालिकाबाटै ठाडै अध्यक्ष तोकेर समिति गठन गरिन्छ ।’